• बैशाख १९ २०८२, शुक्रबार

यस्तो छ एमसिसीले देउवा-प्रचण्डलाई पठाएको पत्र (पत्रसहित)

माघ २३ २०७८, आईतवार

काठमाडौँ। अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले आउँदो फागुन १६ भित्र एमसिसी सम्बन्धी सम्झौता अनुमोदन गर्न ध्यानाकर्षण गराउँदै नेपाललाई पत्र पठाएको छ।

एमसिसी मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाएर सम्झौता अन्तिम समयसीमा सम्झाएको हो।

यसअघि असोज १३ मा देउवा र प्रचण्डले एमसिसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौता संसद्‌बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै पाँच महिनाको समयसीमा मागेका थिए। त्यो समयसीमा २८ फेब्रुअरी अर्थात १६ फागुनमा सकिँदैछ।

एमसिसीले गत बिहीबार (फेब्रुअरी ३) मा पठाएको पत्रमा सम्झौता अनुमोदन गर्न आग्रह गर्दै त्यसका लागि दुवै नेताले गठबन्धनका दल र सांसदहरुसँग पहल गर्ने भनेर जनाएको प्रतिबद्धता पनि स्मरण गराएको छ।

एमसीसी मुख्यालयले फागुन १६ भित्र सम्झौता अनुमोदन नभएमा एमसीसी बोर्डले सम्झौताबारे अर्को कदम चाल्नेसमेत पत्रमा उल्लेख गरेको छ।

देउवा र प्रचण्डले अमेरिकालाई पठाएको पत्र :
नेपालीमा गत कात्तिकमा जलवायु सम्बन्धी ग्लास्गो सम्मेलनबाट फर्कने क्रममा प्रधानमन्त्री देउवाले एमसीसीबारे आफू र प्रचण्डले संयुक्त पत्र पठाएको बताएका थिए ।
यद्यपि पत्रको व्यहोरा उनले सार्वजनिक गरेका थिएनन् । हालै एमसीए नेपालमार्फत सार्वजनिक गराईएको पत्रमा एमसीसी पारित गर्न ४/५ महिनाको समय मागिएको छ ।
एमसीसी पारित गराउने प्रतिवद्धतासँगै देउवा र प्रचण्डले ६ बुँदे रणनीति पनि बुझाएका छन् । प्रतिवद्धता पत्रमा उल्लेखित बुँदाहरु यसप्रकार छन्-
१. एमसीसीबाट प्राप्त स्पष्टीकरणबारे गठबन्धनका साझेदारहरु तथा हाम्रा पार्टीका सदस्यहरुबीच छलफल गराउनेछौं ।
२. एमसीसी कार्यान्वयनका चुनौतीहरु र भ्रमहरु चिर्नका लागि नेपाल सरकारको साधन स्रोतबाट नेपाली जनतामा सन्देशहरु प्रवाह गर्नेछौं ।
३. सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरुको संयुक्त पत्रकार सम्मेलन गरेर एमसीसीबारे सरकारको धारणामा सकरात्मक बल प्रदान गर्नेछौं ।
४. सरकारी सञ्चारमाध्यमहरुबाट एमसीसीबारे सही सूचना प्रवाह गराउनेछौं ।
५. एमसीसी सम्झौतालाई द्रूत कार्यान्वयन गर्न एमसीए नेपाललाई प्रोत्साहन गर्नेछौं ।
६. प्रतिनिधिसभाका सभामुखलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न संयुक्त रुपमा आग्रह गर्नेछौं ।
उल्लेखित कामहरु मार्फत ४/५ महिनाभित्र एमसीसी पारित गर्न आवश्यक पर्ने संसदको बहुमत हासिल हुने विश्वाससमेत देउवा र प्रचण्डले गरेका छन् ।