नयाँ उत्साहको संकेत, जीवनमा रंगीन क्षणहरु र उमंगका साथ नयाँ वसन्तको आगमन भएको छ, सरस्वतीको स्मरण गर्ने दिन वसन्त पञ्चमी । त्यसो त हरेक विहानी मानवको नयाँ युग हो । देवी भागवतले माता सरस्वतीका बारे खुलेर वन्दना गरेको छ । संसारको सृष्टि, पालना र संहारमा सबै शक्तिलाई संरक्षण दिने देवीका सामु संसार एउटा खेलौना समान हो । साहित्यका सबै विद्याकी स्रोत महामाया सरस्वतीलाई हरपल वन्दना । देवीका सामु विशाल ब्रह्माण्ड एउटा साकार रुप हो भने हर प्राणीका ह्रदयमा रहेको चैतन्य शक्ति उनको निराकार रुप हो । सिर्जनामा उनको रुप महासरस्वती, पालनामा महालक्ष्मी र संहारमा उनको रुप महाकालीको हुन्छ ।
प्रथमतः माता सरस्वती वाणीकी देवी हुन् । ज्ञान र विज्ञान उनको स्वरुप हो । माघशुक्ल पञ्चमी ज्ञानकी देवी श्रीसरस्वतीको स्मरण गर्ने दिन हो । सूक्ष्म ब्रह्माण्डको मष्तिस्क सत्ता लिएर धर्तीमा अवतरित मानव उसैले विज्ञानको सदुपयोग गरी विशाल ब्रह्माण्डमा अधिपति जमाउन प्रयासरत देखिन्छ अहिले । चन्द्र धरातलदेखि मङ्गल ग्रहसम्मको पहुँच र समस्त भूखण्ड र खगोलीय पिण्डहरुलाई आफ्नो रिमोर्ट कन्ट्रोलमा राख्न चाहने मानव मष्तिस्क भन्नु परमेश्वरीदेवीको वरद कृपा दृष्टि नै हो ।
ॐ नमो वागीश्वरायबाट आरम्भ भएको शब्दांकुरले नाद ब्रह्मलाई भेदन गरी स्वर, संगीत, कलापारखीसम्म र शिक्षण, प्रशिक्षण, अनुशिक्षणदेखि प्रयोगशालाको भौतिक र रासायनिक परीक्षणसम्म साथ दिने ब्रह्मायणी देवीको अनुपम कृपा दृष्टिले आजको संसार ढुंगेयुगबाट नवीनतम ऊर्जाशील युगसम्म पदार्पण गर्दैछ । कोरोना जस्तो मनाव भुमरीलाई डटेर मुकाबिला गरेको मष्तिस्ककै कारण आज संसारले खोपको विकास गरी कोरोनासँग जुध्दैछ । ज्ञान, विवेक, संयम, धैर्य, श्री, पराक्रमको सही उपयोगदेखि मानव रक्षासम्म र धर्ती अम्बर सबैतिर रहेका सूक्ष्मातीसूक्ष्म जीवाणु, कीटाणुसम्मको रेखदेख र भाइचाराको सन्देश, मानव संस्कृतिको अनुपम उदाहरण हो । आद्याशक्ति सरस्वतीको जन्म दिन वसन्तपञ्चमी ! अर्थात् श्रीपञ्चमी ! रति र कामदेवको स्मरण गर्ने दिन ।
वसन्तको आगमन, नयाँ विहानीको स्वागत गर्ने बेला । सम्पूर्ण वेद, वेदांगहरु सरस्वतीको प्रार्थना गर्न जर्मुराउँछन् र त बालबालिका मात्रै होइन असंख्य मानव सरस्वतीको दर्शन गर्न लालयित हुन्छ, के घरमा, के मठ, मन्दिरमा । सरस्वतीको स्मरण गर्दै पिरुकामाथि माटो राखेर सिन्काले कखरा सिक्ने हामी आधुनिक कम्प्युटर युगमा पुगेका छौँ, क्षणभरिका कुरा हाते मोबाइलमा देख्न सक्ने भएका छौँ, प्रविधिमा संसार धेरै अगाडि बढेको छ, सरस्वतीकै कृपा दृष्टि भन्नु पर्छ यसलाई ।
महान स्रष्टा, ग्रन्थकार, कवि, वकिल, साहित्यकार, कलाकर्मी, सञ्चारकर्मी, डाक्टर, बुद्धिजीवी, शिक्षक, नेता, अभिनेतादेखि वैज्ञानिकहरु सम्मको साधना सरस्वतीका कृपा दृष्टि हुन् । कलम–विचारको प्रवाहदेखि धर्म, संस्कृतिको जगेर्नासम्मको, सिप संस्कारदेखि जीउने कला, वक्तृत्व , प्राविधिक ज्ञानदेखि सम्पूर्ण मानव जीवनलाई सरल, सरस, सारगर्भित बनाउन प्रेरित गर्ने देवी अथाह ज्ञानस्रोतकी सागर नै हुन् र आज मानिस ऊर्जामा उत्कृष्ठ हुन खोज्दैछ, मष्तिस्को ऊर्जा मात्रै नभएर जल ऊर्जा, वायु ऊर्जा, सौर्य ऊर्जा, धन्य हिजोको मान्छे आज कता हो कता स्वर्णीम युगमा पुगेको छ । जति खर्च गर्यो त्यति बृद्धि हुने सीप, संगीत पारखीहरुका लागि साधनाकी स्रोत पनि उनै हुन् । कमलासनी, सेतोबस्त्र धारण गरेकी, वीणा हातमा लिएकी, ब्रह्मादि देवताहरुबाट विशेष वन्दना गरिएकी, अभयमुद्रा भएकी वरदान र श्राप दुवै दिने सक्ने देवी मानव जीवनकी शक्ति सञ्चारिका नै हुन् । विश्व रचनादेखि पालनाकार्य र संहारकारी गुण सम्पन्न देवीलाई वैष्णवी एवं रुद्रायणीका रुपमा पनि चिनिन्छ । विश्वजननी भूवनेश्वरीदेवीको सत्ता, शक्ति पाएर सृष्टिकर्ता परमेश्वर सर्वगुण सम्पन्न बनेको हो ।
कम्प्युटर भित्रका आकृतिदेखि नृत्यकलासम्म र गायन स्वरदेखि आधुनिक साजसज्जा सहितको स्वर ध्वनि यन्त्रसम्मकी देवी सरस्वती विज्ञानकी संरक्षिका पनि हुन् । मानव जीवनलाई ऐस, आराम दिलाउने देवी, भोग, सुखका अतिरिक्त विज्ञानको सदुपयोगसम्म गर्न प्रेरित गर्छिन् । शस्त्रास्त्रको होड्बाजी, आपसी द्धन्दको पराकाष्ठा, अशान्ति, भय, क्रोध, हिंसा, तनावको बलबम बारुदका धूवाँहरु केवल सरस्वतीको विस्मरण नै हो । आदिम ढुंगेयुगबाट गुज्रेको मानव विश्वलाई एउटा हत्केलामा राख्न सफल छ तर उनको विस्मरणले घटनाहरु, दुर्घटनाहरु, आक्रमण, बन्द हड्ताल, तोडफोड, चक्काजाम, आगजनी, ध्वस्त, विकीरणयुक्त, प्रदुषणयुक्त भैरहेछ । प्रत्येक सिक्काका दुईपाटाहरु हुन्छन् । दुवैपाटाहरुलाई सकारात्मक बनाउन सरस्वतीको कृपादृष्टि सद्भाव, प्रेम, स्नेह, सहिष्णुता, भाइचारा, एकता, समन्वय आवश्यक छ । बगैचामा थरिथरीका फूलहरु हुन्छन् । रंगीविरंगी फूलहरुले सजिएको बगैचा निश्चय नै सुन्दर हुन्छ ।
आज मानिस बिर्संदैछ, उनको शक्तिलाई र त ऊ हत्या, हिंसा, बलात्कार, चोरी, उपद्रव, लुटपाट जस्ता गैरसामाजिक कार्यमा व्यस्त छ । राजनीतिले समाजको स्वरुपलाई सद्भावयुक्त बनाउनु पर्नेमा ठीक उल्टो किचलो, कोकोहोलो, रमिते, छट्पटाहट बनाइरहेको छ । विचारको गलत प्रयोगले समाज घुमील हुनुहुन्न, समाजलाई थला पर्न दिनुहुन्न । ज्याद्रो छक्का पञ्जाशैलीमा उठेको कालो बादल नराम्रोसँग मडारिएको छ, संसारमै । देश देशावरमा नयाँ नयाँ तानाशाहहरु, बादशाहहरु देखा परेका छन् । कोही हात बाँधेर मानवको विभत्स हत्या गर्नमा आप्mनो सोख सम्झन्छन्, कोही रुपको आकर्षणमा परी बलात्कार गर्दै निमोठेर कुखुरा मारेझैं सिद्रा पार्छन्, हेर्ने समाज, मानव अधिकार आयोग निरीह बन्छ ।
कोही दिउंसै बत्ती बाल्न बाध्य गराउँछन्, मैले जे गरें, त्यो सबैभन्दा उत्कृष्ट हो भन्छन्, सर्वसाधारणले बाटो हिँड्न पाउँदैन, काम, सीप देखाएर खान पाउँदैन । यो बर्बरता सदाको लागि रहिरहनु हुन्न । देशलाई दशा लाग्न दिनु हुन्न, महँगी कर, मृत्यु कर, भोक कर, डर कर, कात्रो करसम्म नबुझाई यो संसार छोड्न नसकिने अवस्थाले सिर्जना गर्नु पनि हुन्न । राजनीतिक ज्ञानको दुरुपयोग गर्नु हुन्न, संस्कृतिलाई अक्षुण्ण राख्नुपर्छ । कोरोनाका कालमा मानव संस्कार कता कता हराएको अनुभूति भयो । समाज चाटुककारको मात्रै होइन, सबैको हो, नैतिकता, इमान्दारिता, सच्चरित्रताको अभाव हुनुहुन्न ।
कुम्भकर्णको पराक्रम, मन्थराको जिभ्रो, कंशको दुराचार, रावणको अत्याचार अन्ततः खेर नै गयो । सरस्वतीको कृपा दुरुपयोग हुन जाँदा यस्तो भएको हो, सदुपयोग भए, निर्माण र विकास पनि हुन्छ ।
ज्ञान संधै हाँस्दछ, मुस्कान छर्छ, सदाचार र सहयोग, सत्कृति दिन प्रयास गर्दछ । ज्ञानको साथमा विज्ञानलाई डोर्याउन सके विज्ञान पनि यस्तै हुनसक्छ । सम्पूर्ण मानव जगत भयरहित, क्रोध रहित, आवेगरहित, तनावरहित हुन सके विज्ञान कलात्मक बन्न पुग्छ । शुद्ध आचरण, नैतिकवान्, चरित्रवान व्यक्तिहरुबाट सामाजिक पुनरुत्थान हुनसक्छ, नव निर्माण हुनसक्छ, सिर्जनाकी देवीले वसन्त ल्याउन प्रेरित गर्छिन् हर मानव जीवनमा ! मान्छेमा मुखमा राम राम बगलीमा छुरा हुनुहुन्न ।
निर्मला र भागीरथहरुको क्रन्दन पनि सुन्नु पर्छ, हर मानव चित्कार विहीन जीउन सक्नुपर्छ, त्यसका लागि एक अर्कामा सद्भाव जरुरी छ, मानव संस्कृति त्यहीँ जीउँदो हुन्छ । वसन्तपञ्चमीको प्रेरणा, मानव जीवनमा वसन्तको आगमन, नवीन ऊर्जाशैली, नयाँ किरण, नयाँ विहानी, नव पालुवाहरु, नवीनतम प्रयोग नै हो ! नव जीवन, कोमल जीवन, स्वस्थ जीवन, सरल जीवन, सौन्दर्ययुक्त जीवन, भय रहित जीवन अनि सौन्दर्ययुक्त समाज निर्माणको पहल गरौँ सबैले । राज्यका हरेक अंगलाई सरिक गराएर, नेपालीहरु स्वदेश विदेश जहाँ रहे बसे पनि सुखी र समृद्ध रहने प्रण गरौँ, सबै जुटौँ देश निर्माणमा, हातेमालो गरौँ सबैले पुराना गल्तीहरुलाई बिर्सेर, अस्तू !