सुर्खेत । सुर्खेत उपत्यका पनि आजदेखि प्याराग्लाइडिङको सहरमा प्रवेश गरेको छ । अक्षरारम्भ गर्ने श्रीपञ्चमीका दिन सुर्खेतमा पर्यटन प्रवर्द्धनमा निकै प्रभावकारी हुनसक्ने प्याराग्लाइडिङ उडानलाई नियमितता प्रदान गरिने भएको छ ।
वेलकम प्याराग्लाइडिङ प्राइवेट लिमिटेडले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान सुरु गसिकेको छ । कम्पनीका सञ्चालक पदमबहादुर शाहीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त भैसकेको छ ।
प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिइसकेको छ । प्यारा ग्लाइडिङ उडान नियमित सञ्चालनमा आउने वातावरण बनेपछि फरुङ्ग हुँदै सञ्चालक शाहीले भने, ‘विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने छन् ।’
यसका लागि प्रतिव्यक्ति शुल्क ३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । शाहीका अनुसार समूहमा उडान भर्नेहरुका लागि विभिन्न अफर पनि प्रदान गर्ने व्यवस्था गरिएको छ । जस अनुसार ५ जनाको समूहलाई ३ हजार २ सय र १० जनाको समूहलाई २ हजार ८ सय मात्र शुल्क तोकिएको छ ।
तर १० भन्दा बढी संख्यामा आउनेहरुका लागि २ हजार ५ सय रुपैयाँमा प्याराग्लाइडिङ उडान भर्न पाइने व्यवस्था गरिएको छ । उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेका लागि भने थप १ हजार शुल्क बढी तिर्नुपर्ने छ ।
प्याराग्लाइडिङमा एक पटकमा २० मिनेटसम्म सररर हावामा सवार गर्न पाइने छ । यो बेलामा त्रेता युगमा रहेको पुष्पक विमानको निकै याद आउने छ । २०७० सालमा परीक्षण उडान गरिए पनि यो सुचारु हुन लामो समय लाग्यो । कोरोना महामारीले पनि यसमा प्रभाव पारेको देखिन्छ ।
वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२ चालक सुर्खेत भित्र्याइसकेको छ । कर्णालीमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको सञ्चालक शाहीको कथन छ ।