• बैशाख १९ २०८२, शुक्रबार

श्रीपञ्चमीका दिन देउवा–प्रचण्डलाई फातिमाद्वारा ‘चिसोपानी सेचन’, फागुन १६ भित्र एसिसी पारित गरिदिन दुबै प्रतिबद्ध

माघ २३ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १६ गतेभित्रै एमसिसी पारित गरिसक्ने लिखित प्रतिबद्धता जाहेर गरेपछि एमसिसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले धन्यवाद दिएकी छिन् ।

कम्प्याक्टसँग भएको कुराकानी अनुसार थप समयभित्र लिखित प्रतिबद्धता जनाएपछि अमेरिकी सहयोग नियोगको मुख्यालयले धन्यबाद दिएर खुशी व्यक्त गरिसकेको छ । यसले सत्तारुढ गठबन्धनभित्र देखिएको ‘पिरलो र होरलो’ अन्त्य गरिदिएको प्रचण्ड र देउवा निकटहरुले बताइरहेका छन् ।

गत सेप्टेम्बर २९ लाई अन्तिम मिति तोकिदिएपछि फेब्रुअरी २८ वा फागुन १६ गतेभित्र एमसिसी पारित गरिदिने भनी देउवा–प्रचण्डले संयुक्त रुपमा लिखित प्रतिबद्धता पठाएका थिए । फेब्रुअरी ६ अर्थात् श्रीपञ्चमीका दिन फतिमाद्वारा सेचन गरिएको ‘चिसै पानी’ले आफूलाई पवित्र पारिसकेका छन् । यसलाई नेपालमा ‘होली वाइन सेचन’पछिको अर्को फड्कोका रुपमा लिइएको छ ।

फागुन १६ गतेभित्रै संसदबाट एमसिसी सम्भौता पारित हुनेमा एमसीसी मुख्यालय ढुक्क देखिएको छ । सम्झौता अनुमोदनको समयसीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले तोकेको हुनाले यो ढुक्कता पैदा भएको कम्प्याकटले जनाएको छ ।

फातिमा स्वीकार गर्छिन् ‘उनीहरुले गरेको लिखित प्रतिद्धताको सीमा फागुन १६ हो, हामी एमसिसी पारित हुने दिनको पर्खाइमा छौं ।’ उनको दावा छ, सम्झौताअनुसार पूरा हुने परियोजनाले नेपालका २ करोड ३० लाख अर्थात् करिब ८० प्रतिशत जनसंख्याको जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।

ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५०० मिलियन अमेरिकी डलर अनुदानका लागि एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । त्यति बेला कांग्रेस–माओवादी गठबन्धन सरकार थियो र प्रधानमन्त्री देउवा थिए । पछि २०७५ माघ २५ मा केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको थियो ।

हाल जनताका माझमा पुगिसकेको यो सम्झौता निकै गिजोलिएको अवस्थामा छ ।