मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।
मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने पाँच दिनपछि सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।