• मंसिर ९ २०८१, आईतवार

घोर विरोधी भीम रावलको एमसीसीमाथि दोहोरो चरित्र !

माघ २२ २०७८, शनिबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट हुबहु कार्यान्वयनमा विमति राख्दै आएका एमाले नेता भीम रावलको भूमिका दोहोरो देखिएको छ ।

आफू रक्षामन्त्री हुँदा सन् २०१६ मा उक्त परियोजनाको अध्ययनका लागि भएको सम्झौतामा अमेरिकी कानुन लागु हुने व्यवस्थाप्रति विरोध नगरेका रावलले २०१७ मा भएको सम्झौताप्रति भने विरोध गर्दै आएका छन् ।

रावलले एमसिसी सम्झौता यथास्थितिमा कार्यान्वयन गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई बुझाएको पत्रमा सम्झौतामा अमेरिकी कानुन आकर्षित हुने दाबी गरेका छन् ।

एमसिसी सम्झौतामा भने अमेरिकी कानुन नभई अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने उल्लेख गरिएको छ ।

नेपालसँग भएको एमसिसी सम्झौता अन्तर्राष्ट्रिय सम्झौता भएकाले यसमा अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने उल्लेख गरिएको छ । सम्झौताको धारा ६ (४) मा यस्तो व्यवस्था गरिएको छ ।

जबकि रावल रक्षामन्त्री भएका बेला २०१६ जुलाई २० मा एमसिसी र सरकारबीच भएको प्रारम्भिक संलग्नता प्राविधिक सहायता अनुदानमा सम्झौताको धारा ८ (१) (ए) मा न्युयोर्कको कानुन आकर्षित हुने उल्लेख गरिएको छ ।

एमसिसीले परियोजनासम्बन्धी सम्झौता हुनुपूर्व सन् २०१६ मा प्रारम्भिक प्राविधिक अध्ययनका लागि एक करोड अमेरिकी डलर अनुदान दिएको थियो ।

अन्तर्राष्ट्रिय कानुनका जानकार गान्धी पण्डित रावतले एउटै सम्झौतामा सत्तामा हुँदा र सत्ताबाहिर हुँदा दोहोरो चरित्र देखाएको बताउँछन् ।

‘अहिले उहाँले एमसिसीमा अमेरिकी कानुन आकर्षित हुन्छ भन्दै हिँड्नुभएको छ । जबकि उहाँ रक्षामन्त्री हुँदा भएको सम्झौतामा अमेरिकी कानुन आकर्षित हुने सम्झौता हुँदा उहाँले विरोध गर्नुभएन,’ पण्डितले भने । यो समाचार नागरिक दैनिकमा छ ।