काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहिबार रातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार आज राति पनि दिउँसोको जस्तै मौसम रहने र भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना छ ।
‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ ।’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ । बादल त लाग्छ, तर वर्षा हुँदैन ।’