जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको चौँथो वार्षिकोत्सव समारोह स्थगित भएको छ । हावाहुरी र वर्षाका कारण सो समारोह स्थगित गरिएको हो ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रदेशसभाको वार्षिकोत्सवमा प्रदेशसभा सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राखिएको थियो । तर शुक्रबार बिहानदेखि नै हावाहुरीका साथै वर्षा भएपछि कार्यक्रमका लागि बनाइएको मञ्च नै पटक–पटक भत्कियो ।
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद् तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि सबै फर्किएका थिए ।
वार्षिकोत्सवको अवसरमा केही दिनअघि गरिएका विभिन्न खेलहरूमा विजेता सांसद तथा कर्मचारीहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको थियो । त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो ।