काठमाडौँ । मौसममा भएको बदलीले गर्दा देशभरि वर्षासहित हिमपात भइरहेको छ । वस्तीहरुका अग्ला डाँडाहरुमा फुरूरु हिउँ परेका खबरहरु जताततैबाट आइरहेका छन् ।
देशको हिमाली क्षेत्रहरुमा झन् बढी हिउँ परेर जनजीवन प्रभावित भएको छ । यसै क्रममा संसारकै अग्लो हिमाल सगरमाथा क्षेत्रमा विगत केही दिनदेखि हिउँ परेर जनजीवन प्रभावित भएको पाइएको छ ।
सगरमाथाको द्वार समेत भनेर चिनिने हिमाली क्षेत्रको चर्चित व्यापारिक केन्द्र पर्यटकीय बजार नाम्चे बजारमा पनि भारी मात्रामा हिउँ परेको छ । प्रहरी चौकी नाम्चेका अनुसार नाम्चेमा हिजोदेखि हिउँ पर्न सुरु गरेर अहिलेसम्म पनि निरन्तर हिउँ परिरहेको छ ।
नाम्चे प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार जीवन राईका अनुसार अहिलेसम्म नाम्चे बजारमा १ फिटभन्दा बढी हिउँ जम्मा भइसकेको छ । उता सगरमाथा क्षेत्रको सबैभन्दा ठुलो गाउँ खुम्जुङमा अस्तिदेखि नै हिउँ परिरहेको छ ।
सगरमाथाको गाउँ भनेर समेत चिनिने खुम्जुङमा नाम्चे बजारभन्दा बढी हिउँ परेको खुम्जुङका बासिन्दा पर्यटनकर्मी सन्तोष श्रेष्ठले बताएका छन् । अघिपछि नाङ्गा र काला देखिने सगरमाथा क्षेत्रका हिमालभन्दा मुनिका चुचुरा पनि हिउँले छोपेर सेताम्यै बनाएको खुम्जुङका स्थानीय श्रेष्ठले गोलखबरडटकमलाई बताए ।
बढी हिउँ परेको सिजन र वर्षमा किसानहरुको बारीमा आलु, जौं, उवा, फापर लगायतका बालीनालीहरु अरु वर्षको भन्दा बढी फल्ने भएको हुँदा हिउँ परेर तत्काल जनजीवन केही प्रभावित भएपनि केहि दिनपछि जनजीवन सहज हुँदै जाने श्रेष्ठको भनाइ छ ।
तस्विरहरु /सन्तोष श्रेष्ठ, खुम्जुङबाट