• मंसिर १३ २०८१, बिहीबार

मध्यपहाडी लोकमार्गको बाँकी रहेको निर्माण कार्य सम्पन्न हुन थप १२ वर्ष लाग्ने त होइन ?

माघ २१ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको मध्यपहाडी लोकमार्गको अझै पनि ४० प्रतिशत निर्माण कार्य बाँकी छ । आर्थिक वर्ष २०६४/०६५ मा थालनी गरिएको यो लोकमार्गको निर्माण कार्य आर्थिक वर्ष २०७८/०७९ मा पूरा गरिने लक्ष्य राखिएको थियो ।

तर अहिले पनि यसको निर्माण कार्य कछुवा गतिमा रहेको छ । यो लोकमार्गको सिलान्यास गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै देशमा विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढ्ने भनी नेताहरुले जनताका बीचमा आश्वासन बाँडेका थिए ।

तर अहिले आएर ती कुराहरु कोरा गफ त थिएनन् भन्ने अवस्था सिर्जना हुन गएको छ । सामान्य विकास निर्माणका कामले पनि गति लिन नसकिरहेको बेला राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिनसक्ने विश्वास पनि गर्न नसकिने अवस्था रहेको छ ।

नेपालको जनजीवन तथा आर्थिक विकासमा ठूलै परिवर्तन ल्याउने अपेक्षासहित आवश्यक नीति तथा योजना निर्माणसहित यो आयोजनाको सुरुआत गरिएको थियो । तर यसको निर्माण कार्य सुरु गरिएको १२ वर्ष बितिसक्दा पनि मात्र ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको देखिनुले यसले देशलाई पछि पार्ने देखिएको छ ।

देशको समग्र विकास र त्यसमा पनि आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा ठूलै परिवर्तन ल्याउन सक्ने सोचका साथ राष्ट्रिय गौरवका आयोजनाको अवधारणा अघि सारिएपछि देशमा विवकास निर्माैणका कामले गतिलिने अपेक्षा गरिएको थियो ।

आर्थिक वर्ष २०६४/०६५मा सुरु गर्दाका बखत जस्तो मध्यपहाडी लोकमार्ग निर्माण र यसले ल्याउने बहुआयामिक परिवर्तको परिकल्पना जसरी गरिएको थियो, त्यसमा अहिले शिथिलता आएको छ । यो देश विकासका लागि राम्रो संकेत होइन ।

यसको शिलान्याश गर्दाका बखत कुनै पनि महामारीजन्य समस्या देखा परेको थिएन । यस अतिरिक्त विकास निर्माणप्रति सबैको चासो पनि उत्तिकै थियो । यो उत्साहप्रद वातावरणमा सुरु भएको आयोजना अहिले पूरा नहुँदै गतिअवरोधको अवस्थामा पुगेको छ ।

प्राविधिक वा जनशक्तिका कारण बेलाबेलामा आउनसक्ने समस्या सामान्य हुन् । ती समस्या अपेक्षित पनि हुन् । तर निर्माण कार्यमा गम्भीर असर पार्ने खालका समस्या देखा नपरिरहेका बखत निर्माण कार्यमा अपेक्षित गति आउन नसक्नुमा भने सरकारकै दोष देखिन्छ ।

आर्थिक वर्ष २०७८/०७९ सम्म सम्पन्न भैसक्नु पर्ने मध्यपहाडी लोक मार्गको निर्माण सीमासमय मात्र बढिमा एक/डेढ वर्ष बाँकी छ । तर कूल निर्माण कार्यको ४० प्रतिशत भाग सिंगै रहेको छ ।

यसले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्यमा चरम लापरबाही हुने गरेको यथार्थतालाई बाहिर ल्याएको छ । लोकमार्ग निर्माण आयोजनाले पनि मध्यपहाडी लोकमार्गको निर्माणको भौतिक प्रगति ५९.४२ प्रतिशत देखाएको छ । बाँकी काम भैरहेको भने पनि के कारणले ढिलाइ हुन गयो, सोको कारण खुलाइएको छैन ।

तर बाँकी रहेको निर्माण कार्य अगाडि बढाउनका लागि सरकारका सम्बन्धित निकायका तर्फबाट ठेक्कापट्टा दिलाउने प्रक्रिया समेत अघि बाँकी रहेको देखिन्छ । हरेक वर्ष नेपालमा विकास निर्माणका लागि छुट्याइएको पुँजीगत खर्च कहिल्यै पनि उपयोग हुन सकिरहेको छैन ।

सधैंका वर्षहरुमा बजेट फ्रिज हुने र काम नहुने भैरहेको छ । मध्यपहाडी लोकमार्गको बाँकी रहेको ४० प्रतिशत निर्माण कार्य पूरा हुन अरु थप १२ वर्ष लाग्ने त होइन भन्ने आशंका जन्माइरहेको छ ।