काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्।
उनले भने, ‘एमसिसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानूनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ ।’
उनले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए ।
सचिव रायमाझीले एमसिसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए ।
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोप समेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।