काठमाडौँ। बर्दियाको बाँसगढीमा बिहिबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ३५ जना यात्रु घाइते भएका छन्। बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ मा बस दुर्घटना भएको हो।
कालिकोटबाट महेन्द्रनगरतिर जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहान करिब सवा ३ बजे दुर्घटना भएको बताइएको छ। अनियन्त्रित भएर सडकबाट करिव १५ मिटर तल खसेको बसमा सवार घाइतेमध्ये कालिकोट त्रिवेणी गाउँपालिका वडा नम्बर ६ कि ११ वर्षिया शीतला उपाध्याय र सान्नी गाउँपालिका वडा नम्बर ७ कि ६९ वर्षिया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जनाएको छ।
घाइते दुवैलाई उपचारको लागि कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सामान्य घाइते भएका अरुलाई उपचारको लागि कौशिल्या अस्पताल पठाइएको छ।