• मंसिर ९ २०८१, आईतवार

प्रचण्ड र नेपाललाई देउवाको प्रश्न : ‘एमसीसी सम्झौताका कुन-कुन बुँदा संशोधन गर्नुपर्ने हो ?’

माघ २० २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको संशोधन गर्नुपर्ने बुँदा उपलब्ध गराउन सत्ता साझेदार दललाई आग्रह गरेका छन् ।

बालुवाटारमा बुधबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमक्ष संशोधन गर्नुपर्ने बुँदाहरू लेखेर दिन भनेका हुन् । दाहाल र नेपालले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएको स्रोत बताउँछन् ।

‘माधवकुमार नेपाललाई निर्वाचनसम्म गठबन्धन कायम रहन्छ भने यथास्थितिमै पनि एमसीसी पास गर्ने कुरामा समस्या छैन । पार्टीका अन्य साथीहरूको चित्त बुझाउनका निमित्त मात्र उहाँले संशोधनको मुद्दा बोक्नुभएको छ’, स्रोतले भन्यो ।

नेपालसँग बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले पनि भेट गरेका थिए । त्यस बेला पनि नेपालले सकारात्मक कुरा गरेको स्रोतले बतायो । ‘गृहमन्त्रीले देशलाई निकास दिन के गर्ने हो ?

तपाईहरु सहजीकरण गरिदिनुपर्पो भन्नुभयो’, स्रोतले भन्यो, ‘माधवकुमार नेपालले साथीहरू एमसीसी संशोधन गरेरै अघि बढौं भन्दै हुनुहुन्छ । मैले साथीहरूलाई भनेकै छु । एमसीसी कहाँनेर संशोधन गर्नुपर्छ भन्नुहोस् । त्यसमा प्रधानमन्त्रीजीलाई सुझाव दिनेछौं । सँगसँगै हामी गठबन्धनमा पनि छौं र उहाँहरू सँगै चुनावमा जानुपर्छ भन्ने पनि ख्याल राखौं ।’

बालुवाटारमा प्रधानमन्त्रीसँग एमसीसीकै विषयमा छलफल भएको नेता नेपालले बताए । ‘एमसीसीका कुन–कुन कुराहरू संशोधन गर्नुपर्ने छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो । संशोधन गर्नुपर्ने बुँदाहरू उपलब्ध गराउन हामीलाई भन्नुभएको छ’, नेता नेपालले भने । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।