• बैशाख १८ २०८२, बिहीबार

बेलारूस–युक्रेन सीमामा १ लाख ३० हजार रुसी सैनिक तैनाथ

माघ १९ २०७८, बुधबार

एजेन्सी । रूसले बेलारूससँग मिलेर युक्रेनको सीमामा १ लाख ३० हजार सैनिक तैनाथ गरेको छ । युक्रेन सिमानामा युद्ध अभ्यास सुरु गरेको हो ।

यो युद्ध अभ्यासका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा आफ्ना २ हजार स्पेट्सनाज सैनिक तैनाथ गरेका छन्। यसअघि नै बेलारूस–युक्रेन सीमामा ५ हजार रूसी कमाण्डो तैनाथ छन्। विज्ञहरूले रूसी सैनिकहरूसँगै बेलारूसका सैनिकहरू पनि सँगै आउन सक्ने चेतावनी दिएका छन्। योसँगै त्यहाँ ८० हजार सैनिक पुग्ने बताइएको छ।

बेलारूसको सिमानामा हजारौँ कमाण्डो तैनाथ गरिएकाले रूस र बेलारूसले छिमेकी युक्रेनमाथि युद्ध अभ्यासका नाममा आक्रमण गर्न सक्ने आशंका पनि बढाएको छ। यी सबै सैनिकलाई रेलमार्फत बेलारूस पठाइएको छ। यी रूसी सैनिकहरू शत्रुको इलाकामा प्रवेश गरेर आक्रमण गर्न सिपालु हुन्छन् र शत्रुको हत्या गर्न पनि पठाइन्छ। पुटिन र बेलारूसका तानाशाह अलेक्जेन्डर लुकाशेन्कोको सेनाले आफ्नो युद्ध तयारीको परीक्षण गर्नेछ, यसले युक्रेनमा तनाव बढाउन सक्छ।

यो युद्ध अभ्यासको पहिलो चरण फेब्रुअरी ९ मा समाप्त हुनेछ र त्यहाँ हजारौं रूसी सैनिकहरू भेला हुनेछन्। यसपछि, अभ्यासको अर्को चरण फेब्रुअरी १० तारिखदेखि सुरु हुनेछ। यसअन्तर्गत आगामी १० दिनसम्म रूस र बेलारूसका सैनिकहरूले विदेशी सेनाको आक्रमणलाई जवाफ दिन अभ्यास गर्नेछन्। अर्कोतर्फ रूसको धम्कीलाई मद्देनजर गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको राजधानी किभ पुगेका छन् र त्यहाँका राष्ट्रपति भोलोदयमर जेलेन्स्कीलाई भेट्नेछन् ।

यसैबीच युक्रेनलाई लिएर नाटो सदस्य देशहरूसँग बढ्दो तनावका बीच पुटिनले अमेरिकालाई निशाना बनाएका छन्। पुटिनले पहिलो पटक आफ्नो मौन तोड्दै अमेरिकाले रूसलाई घेरा हाल्न युक्रेन प्रयोग गरिरहेको आरोप लगाएका छन्। उनले रूस र पश्चिमा राष्ट्रले युक्रेनमा जारी सुरक्षा संकटको समाधान खोज्ने आशा व्यक्त गरे। रूसले अमेरिका र नेटो देशहरूले पठाएको प्रतिक्रियाको अध्ययन गरिरहेको पुटिनले खुलासा गरे।  यद्यपि पुटिनले अमेरिका र नाटोको जवाफ पर्याप्त नभएको पनि बताए।

मंगलबार पुटिनले अमेरिका र उसका सहयोगीहरूले रूसको प्रमुख सुरक्षा मागहरूलाई बेवास्ता गरेको बताए। युक्रेनलाई लिएर पश्चिमी राष्ट्रहरूसँगको गतिरोधलाई लिएर एक महिनाभन्दा लामो समयपछि पहिलोपटक टिप्पणी गर्दै पुटिनले पश्चिमा राष्ट्रहरूविरुद्ध आक्रामक अडान लिए । युक्रेन र सोभियत संघका सदस्य देशहरूमा नेटोले आफूलाई विस्तार नगर्ने र रूसको सिमाना नजिक आक्रामक हतियार तैनाथ नगर्ने मागलाई पश्चिमी देशहरूले बेवास्ता गरेको भन्दै पुटिनले आक्रोश व्यक्त गरेका छन्।