• मंसिर १८ २०८१, मंगलवार

बाबुरामको पिएचडी सक्कली कि भीम रावलको ?

माघ १९ २०७८, बुधबार

काठमाडौँ । देशमा यतिबेला विकसित भएको  राजनीतिका कारण चर्चित नेताहरुको जुहारी चलिरहेको छ । अमेरिकी सहयोग नियोग   एमसीसी परियोजना राष्ट्रको विरुद्धमा छ यसलाई कुनैपनि हालतमा देशमा लागु गर्नु हुँदैन भन्ने एकथरी नेताहरु रहेका छन् भने अर्काथरी भने यो परियोजना देशको हितमा छ त्यसलाई अहिले नै लागु गरिहाल्नु पर्छ भन्नेमा । तर्क, बहस र वादविवादले विभिन्न रुप लिइरहेको छ । त्यही एमसीसीले कयौं नेताहरुलाई राष्ट्रवादी देखाएको छ भने कयौं नेताहरुलाई राष्ट्रघातीजस्ता समेत देखाएको छ ।

एमसीसी परियोजनाका विषयमा विगत दुई वर्षयता विभिन्न विचार गोष्ठी अन्तरक्रियाहरु हुँदै आउँदा त्यो परियोजना इतिहासमै सबैभन्दा विवादित कार्यक्रम हुन पुगेको छ । एमसीसीको विषयमा नेपालका राजनैतिक पार्टीका विभिन्न नेताहरुले विभिन्न विचारहरु व्यक्त गर्ने गरेका छन् । यस्तै एमसीसीको विषयमा विचार व्यक्त गर्दै जाँदा सत्तारुढ जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेमा पनि प्रतिपक्षी जस्ता देखिने नेता डाक्टर भीम रावलको बिचमा सार्वजनिक रुपमै सामाजिक संजालमा आरोप प्रत्यारोप भएको छ ।

डा. बाबुराम भट्टराईले सामाजिक संजालमा गरेको पोष्ट
डा. बाबुराम भट्टराईले सामाजिक संजालमा गरेको पोष्ट

एमाले नेता डाक्टर भीम रावलले एमसीसी पास नगर्न आग्रह गर्दै प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष साथै विभिन्न पार्टीका नेता तथा सांसदहरुको नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै ध्यानाकर्षण गराएको पत्रमा एमसीसीबारे प्रतिनिधि सभामा पेश भएपछि मात्रै आफूले थाहा पाएको भन्दै आफूहरु ‘संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त भएको समयमा तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोप्यरुपमा एमसीसी सम्झौता गरेको’ भनेर भनेपछि राजनैतिक बजार र एमसीसी बहसको पारो झन् माथि उक्लिएको छ ।

डाक्टर रावलले आफ्नो नाम उल्लेख गर्दै त्यस्तो पत्र सार्वजनिक गरेपछि डाक्टर भट्टराईले आफ्नो सामाजिक संजाल मार्फत् उत्तर दिंदै डाक्टर रावललाई ‘नक्कली विद्यावारिधिधारी पो हुन् कि ?’ भनेर जवाफ दिए । डाक्टर भट्टराईले, ‘विद्यावारिधि गरेको, नाममा भीम रावलले नामको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे दावी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनु पर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्यरुपमा एमसीसी सम्झौता गरेको’ हो भने कहाँ कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली विद्यावारिधि हुन् ?’ भनेर प्रश्न गरे ।

डा.भीम रावलले सामाजिक संजालमा गरेको पोष्ट
डा.भीम रावलले सामाजिक संजालमा गरेको पोष्ट

डा.भट्टराईको प्रश्नको उत्तर दिंदै सामाजिक संजालमै डाक्टर रावलले नेपालको विद्यावारिधि होइन ‘सीमापारीको विद्यावारिधि नक्कली हुने गरेको सधैं चर्चा हुने’ भन्दै जवाफ फर्काएका छन् । डाक्टर भट्टराईको सवालको जवाफ दिंदै डाक्टर रावलले, ‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरि टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । विद्यावारिधि नक्कली सीमापारीको हुने गरेको सधैं चर्चा हुन्छ । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि कसैको नक्कली हुने चर्चा नै हुन्न’ भनेका छन् ।

अब कुन विद्यावारिधि नक्कली हो र कुन विद्यावारिधि सक्कली हो, कि त ती नेताहरु नै जानुन्, कि त उनीहरुलाई त्यो विद्यावारिधि प्रदान गर्ने संस्थाहरुले नै जानुन् । नेपाली जनतालाई देश विकास हुनुपर्यो, राष्ट्रियता बलियो हुनुपर्यो, जनजीविका सहज हुनुपर्यो, देश स्वाधिन रहिरहनु पर्यो ।