• असार २३ २०८१, शनिबार

दाङमा गरियो फोहरबाट ग्याँस उत्पादन : सुरुमा स्थानीयलाई वितरण गरिने

माघ १९ २०७८, बुधबार

दाङ, १९ माघ ।
घोराहीमा फोहरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्याँस उत्पादन गर्न सुरु भएको हो । करिब ३ महिना अघिदेखि ग्याँस उत्पादनको परिक्षण सुरु गरिएको नेपाल उर्जा विकास कम्पनी प्रा.लिले जनाएको छ ।

अहिले परिक्षणको क्रममा दैनिक ३ सय घनमिटर ग्याँस उत्पादन भैरहेको कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । “अहिले फोहरसमेत कम राखिएको छ, जसले गर्दा ग्याँस उत्पादन कम भएको हो, केही समयपछि फोहर धेरै राखेर ग्याँस उत्पादन वृद्धि गरिने छ” प्लान्ट म्यानेजर श्रेष्ठले भने । कम्पनीले अहिले घोराही उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिरहेको छ ।

उत्पादन भएको ग्याँस पाइपलाइन मार्फत् घर–घरसम्म पुर्याउने योजनामा कम्पनी रहेको श्रोष्ठले जानकारी दिए । जसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा ढिला भएको उनले बताए । “हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको छ” प्लान्ट म्यानेजर श्रेष्ठले भने । पहिलो चरणमा ४ सय ५० घरधुरीमा पुर्याउने भनेर सर्भे गरिएको छ भने थप पछि विस्तार गरिने भएको छ ।

उत्पादन गरिएको ग्याँस वरिपरिका स्थानीय बासिन्दा, नारायणपुर, सर्रासम्म पुर्याउने उनले बताए । पाइपमार्फत् ग्याँस प्रयोग गरेवापत मिटर अनुसार रकम तिर्नुपर्ने छ । सुरुमा ग्याँस उत्पादन गरेर सिलिण्डरमा भरेर बजारमा पठाउने योजना भए पनि पनि नयाँ डिपिआर गरेर पाइपलाइन मार्फत् ग्याँस वितरण गर्न थालिएको उनले बताए ।

कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिला भएको प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन् । सुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण कार्य ढिला भएको उनले बताए । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रा.लि र घोराही उपमहानगरपालिकाबिच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको हो ।

त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते भएको थियो । ग्याँस उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको भएपनि पाइपमार्फत् घर–घरसम्म ग्यास पुर्याउनुपर्ने भएपछि करिब २२ करोड लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए । यो रकम घर–घरसम्म ग्याँस पाइपमार्फत् पुर्याउँदा खर्च हुनेछ । फोहरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको श्रेष्ठ बताउँछन् ।

संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । उक्त ग्याँस प्लान्ट २ हजार घनमिटरको रहेको छ । फोहरबाट ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने योजना रहेको उनले बताए ।

कम्पनी र नगरपालिकाबिच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम तिर्नुपर्ने छ । “नगरपालिका र कम्पनीबिच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण गर्नेछौं, यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ” म्यानेजर श्रेष्ठले भने ।

ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ । जिल्लामा नै फोहरबाट ग्याँस उत्पादन भएपछि ग्याँसको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाहरुबाट नागरिक समेत आउने गरेका छन् । फोहरबाट ग्याँस तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ । ग्याँस उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग समेत हुनेछ ।

ग्याँस उत्पादनकै लागि भनेर घोराही उपमहानगरपालिकाले नगरक्षेत्रबाट अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । यसले नगर सरसफाईमा समेत सहयोग पुग्ने अपेक्षा उपमहानगरपालिकाको छ ।