सडक बाटो र मानिसको जनसंख्या बढेसँगै सवारी साधनको संख्या पनि ह्वात्तै बढेको र सवारी साधनको आवश्यकता र जसको महत्व पनि दिन प्रतिदनि बढ्दै आएको देखिन्छ । मानिसमा आर्थिक सम्मुन्नति भएसँगै सवारी सौखिनको संख्या बढ्नु पनि स्वभाविक हो ।
पहिला पहिला विद्यार्थीहरु हिँडेर स्कुल कलेज जाने गर्थे भने एक डेढ दशकदेखि स्कुल कलेज पढ्न जानेहरु पनि सवारी साधन चढेर जाने चलन बढ्दै आएको छ । पहिला पहिला भारी बोकाएर सामान लाने ल्याउने गरिन्थ्यो, तर हिजो आज भारी बोक्नेको काम सवारी साधनले गरिआएको छ ।
साना हुन् या ठुला ब्यापारी ब्यावसायीहरुलाई त सवारी अनिवार्य भइसकेको छ भने जागीरेहरुलाई पनि सवारी साधन अनिवार्य जस्तै बनेको छ । सहर बजारमा त कुरै छाडौं गाउँ घरमा समेत मोटरसाइकलमा राखेर दुध बेच्न हिँडेको देखिन्छ ।
मोटर साइकलमै खाद्य तरकारी, लताकपडा, दाना, आलु प्याजका बोरा र घाँससमेत बोकेर ओसारेको प्रशस्तै देख्न सकिन्छ । यसर्थ, सवारी साधनको प्रयोग दिन प्रतिदिन बढ्दै छ भन्ने कुरामा दुईमत छैन ।
सवारी साधनको सही ढंगले उपयोग गर्न सकियो भने हामीलाई फाइदैफाइदा हुने गरेको देखिन्छ भने तर त्यही सवारी साधनलाई हामीले सही ढंगले चलाएर उपयोग गर्न सकिएन भने आफ्नो र अरुको समेत ज्यानैजाने र गाडी अथवा अर्बौ सम्पत्तिको हानीनोक्सानी भएको पनि घाम जत्तिकै छर्लंग छ ।
तथ्यांक विभागले सार्वजानिक गरेको समाचारअनुसार काठमाडौं भित्रको सडक होस् या राजमार्ग होस् या पहाडी इलाकाको सडक होस्, प्रायः अधिकांश सडकहरु जीर्ण अवस्थामा हुन पुगेकाले सडक दुर्घटनाबाट मात्रै नेपालमा बर्सेनी १५ सय देखि १८ सयसम्म मानिसको मृत्यु हुने गरेको छ ।
कुनै कुनै चालक यस्ता पनि हुन्छन् कि सनकको भरमा अरुलाई हेपेर तीब्र गतिमा सवारी साधन चलाएर अरुलाई उछिन्न खोज्दा दूर्घटना भएर पनि कयौंको ज्यान गएको छ । पुरानो सवारी साधनको हेरचाह र समयमै मर्मत नै नगरिकन चलाउनु, घुम्तिमोड, खोला छेउ, साँगुरो बाटो, अथवा सडकको चौडाइ साह्रै साँगुरो हुनु आदिले पनि दूर्घटना निम्त्याउने गरेको छ ।
सडकको दायाँबायाँ पूर्णरुपमा छेकवार नहुनु, समयमै सडकको मर्मत सम्भार हुन नसक्दा सडक जीर्ण अवस्थामा रहिरहनु, चालक तथा गाडी मालिकको पनि अदूरदर्शिता, असंवेदनशीलता र खाल्टाखुल्टी नहेरिकन तीब्र गतिमा गाडी चलाउनु नै दूर्घटनाका अन्य कारण रहेका छन् ।
लेन अनुसारको पालना नगर्ने, ट्राफिक नियम पालना नगरी सडक छेउमा राखिएको चिन्ह, टफिक संकेत र बत्ति पनि नहेर्ने, अनि घुम्तिमा हर्न नबजाइकन सवारी चलाउनाले पनि दूर्घटनाको संख्या बढाएको छ ।
सवारी साधनले बोक्ने क्षमताभन्दा बढी मानिस वा सामान बोक्नु, खाल्टा खुल्टी, चिल्लो र चिप्लोमा सचेत भएर नचलाउनु पनि दुरघटनाको कारण हो । अरुभन्दा पनि सार्वजानिक यातायातमा सबैभन्दा बढी संख्यामा सवारी चालककै लापरवाहीका कारण दुर्घटना हुने गरेका छन् ।
यही कुरा ट्राफिक अनुसन्धानले प्रष्ट रुपमा देखाउने गरेको छ । दूर्घटना कहाँ र कति भयो भनेर तथ्यांक मात्र निकालेर दूर्घटनालाई रोक्न सकिदैन । दूर्घटना कहाँ भयो, कति भयो भन्नु भन्दा पनि दुर्घटना किन भयो भनेर अध्ययन अनुसन्धान गरिनु महत्वपूर्ण हो ।
दूर्घटनालाई निमिट्यान्न पार्न सवारी नियम पालना गरेर सवारीसाधन चलाउने काम गर्न सकियो भने दूर्घटनालाई स्वतः कम गर्न सकिन्छ । सडक दूर्घटनालाई साच्चिकै कम गराउने हो भने सरकार, ट्राफिक प्रहरी, स्वयम् चालक जिम्मेवार भएर मात्र पनि हुँदैन ।
यसका लागि स्वयम् नागरिक पनि सडक दूर्घटनाप्रति सचेत सजकता हुनु जरुरी छ । यात्रुहरुले पनि सवारीमा कोचिएर यात्रा नगर्ने, सवारीमा बोक्न सक्ने क्षमताभन्दा बढी सामान नबोकाउने, सडकको माझबाट बाटो नकाट्ने गर्नु पर्छ ।
बाटो काटेर पारी जानै परेमा दायाँबायाँ सवारी साधन आएको छ कि छैन हेरेर होसियारीपूर्वक बाटो काट्ने र पार गर्ने बानी बसालनु पर्छ । सडकको पेटी वा दायाँबायाँ किनाराबाट मात्र हिँड्ने बानी बसाल्न सकियो भने मात्र पनि धेरैको ज्यान बच्न सक्छ ।
ट्राफिक बत्ति ट्राफिक नियम कानुनको पालनामा ध्यान दिन सकियो मात्र भने पनि दूर्घटनाबाट बच्न सकिन्छ । सरकारले समय समयमा दूर्घटनासम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरेर पनि दूर्घटनाहरु कम गराउन सकिन्छ ।
नागरिकलाई दूर्घटना न्युनीकरणसम्बन्धी तालिम गोष्ठीमा सहभागिता गराउँदै लैजानु पर्छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकामार्फत् प्रचार प्रसार बढाउने र दूर्घटना सम्बन्धित लेख रचना पठाउने अनि प्रकाशन भएका लेख रचना पढ्ने गरेमा पनि यसले होशियार बनाउँछ ।
त्यसबाट ज्ञान लिने, ज्ञान दिने साथै विविध नाटक र टेलिफिल्म बनाएर प्रचार प्रसार गर्न सकियो भने पनि अवश्य दूर्घटनालाई निकै कम गर्न सकिन्छ । यसका लागि सरकार, सडक विभाग, ट्राफिक प्रहरी, सवारी गाडी चालक र सर्वसाधारण नागरिकसमेत जिम्मेवार बन्नु जरुरी छ ।
(न्यौपाने तरकारी, फलफूल, कृषि, खाद्य व्यावसायी एवम् सवारी चालक पनि हुन् ।)