• मंसिर २० २०८१, बिहीबार

निबन्ध : पृथ्वीनारायण शाह

माघ १८ २०७८, मंगलवार

राजन रावत ।  समयको परिवर्तनसँगै आज मानिसहरु नेपाल देश कसले र कहिले बनायो ? भन्ने बारेमा बहस गर्न थालेका छन् । जबजब देशमा विदेशी हस्तक्षेप बढ्दै जान्छ र देशको अस्तित्व नै समाप्त हुने अवस्था आउँछ तबतब देशलाई जोगाएर यहाँसम्म ल्याएका राजामहाराजाहरुको नाम अगाडि आउने गर्दछ ।

हालसालै पनि पृथ्वीनारायण शाहको नाम निरन्तर चर्चामा आइरहेको छ । उनको जन्मदिन पनि केहि दिन अघि मात्रै मनाइएको छ । धेरै मानिसहरु पृथ्वीनारायण शाहलाई साम्राज्यवादी शासकका रुपमा चिन्ने गर्दछन् भने धेरै नेपालीहरुले उनलाई राष्ट्रनिर्माता, एकताका प्रतीक, स्वाभिमानी राजा भनेर चिन्ने गर्दछन् । सायद उनीजस्तो राजा नभई दिएको भए अहिलेको नेपालको परिकल्पना गर्न सकिन्थ्यो होला ? हामी कुन संसारमा हुन्थ्यौं होला ?

विक्रम संवत् १७७९ पुस २७ गते गोरखा जिल्लाको लिगलिगकोट दरबारमा जन्मिएका शाहले नै नेपाल एकीकरणको महान् अभियान चलाएर बाइसे चौबीसे राज्यलाई एकीकरण गरेका थिए । उनकै साहसका कारण अहिलेको नेपालको प्रादुर्भाव भएको हो । उनीमा भएको एकताको भाव र विशाल नेपालको परिकपल्नाकै प्रतिफलरुवरुप अहिले हामी नेपाली भनेर गौरव गर्दै आएका छौं ।

उनलाई नेपाल राष्ट्रको निर्माणका लागि एकीकरण महापुरुषका रुपमा पनि लिने गरेका छौं । त्यसैगरी राष्ट्रनिर्माताका रुपमा पनि चिन्दै आउने गरिएको छ । त्यति मात्र नभई पृथ्वीनारायण शाहलाई टुक्राटुक्रामा रहेको तत्कालीन राज्य रजौटालाई एक विशाल नेपाल निर्माण गर्ने राष्ट्रनायकका रुपमा पनि परिचित छौं ।

उनको यस्तो खाले दर्बिलो र गर्विलो इतिहासका कारण उनको राष्ट्रवादी राजाका रुपमा पनि इतिहासमा नाम कोरिएको छ । शाहमा भएको अदम्य आँट र साहसकै कारण नेपाल एकीकरण सम्भव भएको कसैमा छिपेको छैन । अहिलेका साना नानीहरूले पृथ्वीनारायणका बारेमा जान्नु र बुझ्नु पनि अति जरुरी रहेको छ ।

उनीबाट अदम्य साहस, सामूहिकता र सहकार्यको भावना सबैमा जागृत गराउन सकिन्छ ।
राष्ट्रनिर्माणका लागि नेतृत्वदायी र अविभावकीय भूमिका खेलेकै कारण नेपालमा पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिन्छ । यो उनले राज्यप्रति गरेको योगदानको कदर पनि हो । योगदान पुर्याउने व्यक्तिको सम्मान पनि हो ।

एकताका प्रतीक शाहबाट घर बनाउन एउटा परिवारका सदस्य मिल्दा जति सजिलो हुन्छ त्यति एकजना व्यक्तिले बनाउन खोज्दा कठिन हुन्छ भन्ने सन्देश पनि लिन सकिन्छ । उनले एकीकरण अभियान नचलाएको भए अहिलेको नेपालको कल्पना गर्न पनि सकिने थिएन । देश बनाउनका लागि शाहबाट धेरै कुरा सिक्न बाँकी छ ।

उनीमा रहेको अदम्य साहसकै कारण नयाँ र चार जात छत्तीस वर्णको साझा फूलबारीको नेपाल सम्भव भएको हो । मै खाउँ, मै लाउँ भन्ने मानसिकता भएको वर्तमान जमाना छ तर उतिबेलै पृथ्वीनारायण शाहमा विशाल नेपाल बनाउने र सबैलाई एउटै भावनामा बाँध्ने लक्षण थियो ।