• मंसिर १२ २०८१, बुधबार

कमला सुवेदीले ल्याइन् शक्ति लम्सालबारे जानकारीमूलक पुस्तक

माघ १८ २०७८, मंगलवार

काठमाडौं । २००७ सालदेखि नै वामपन्थी राजनीतिमा संलग्न शक्ति लम्साल नेपाली वाम आन्दोलनमा निरन्तर सकृय नेता हुन् ।

त्यतिमात्र होइन उनी नेपाली जनता माथि राणा, राजा र बहुदलीय व्यवस्थाका हिमायतीहरुले लादेको संसदीय बहुदलीय व्यवस्थाको जंजीर विरुद्ध पनि साहित्यिक फाँटबाट पनि शासक तरिकाले आवाज बुलन्द गरिरहने साहित्यकार पनि हुन् । हाल उनको निधन भइसकेको छ । उनी राजनीतिज्ञ र साहित्यिक दुवै व्यक्तित्व भएका बहुप्रतिभाशाली व्यक्ति थिए ।

उनी २००७ साल देखि नै वामपन्थी राजनीतिमा लागेका थिए । कमला सुवेदीद्वारा लिखित ‘क्रान्तिकारी साहित्य, संस्कृति र पत्रकारीताका स्तम्भ शक्ति लम्साल’ शिर्षकको पुस्तकमा लम्सालले राजनीतिक तथा साहित्यिक क्षेत्रमा गरेको लगानी तथा त्यागका बारेमा पाठकहरुलाई धेरै जानकारी दिइएको छ ।

माथी नाम उल्लेखित पुस्तकका माध्यमबाट कमलाले शक्ति लम्सालले वामपन्थी राजनीतिमा प्रवेश गरेसँगै संस्कृति र प्रकारिताका क्षेत्रमा गरेका कामहरुका बारेमा पाठकहरुलाई जानकारी गराउन अथक प्रयास गरेकी छिन् ।

पुस्तकमा लम्साल सानैदेखि वर्ग संघर्ष, युद्ध, क्रान्ति र आमूल परिवर्तनलाई आत्मसात गर्छन् भन्ने कुरा स्पष्ट पारिएको छ । यसकै लागि उनी जीवनभर कृयाशील रहे । यही संघर्षका क्रममा उनले तत्कालीन पञ्चायती र बहुदलीय व्यवस्थाबाट थुप्रै यातना तथा प्रताडना भोगे । उनको यहि संघर्षमार्फत् देश र जनताप्रतिको उत्तरदायी रहेकै कारण तत्कालीन शासकहरु उनीप्रति भयभित भए ।

शक्ति लम्सालको अर्को पक्ष भनेको प्रगतिवादी साहित्य लेखन र जनपक्षीय पत्रकारिता हो । उनले जीवनभर जनपक्षीय साहित्य सृजना गरि रहे भने जनपक्षीय पत्रकारितामा पनि उत्तिकैरुपमा लागिरहे । शक्ति लम्सालको यहि संघर्षशील जीवनको अध्ययन गरि कमला सिग्देल(सुवेदी)ले यो पुस्तक तयार पारेकी हुन् ।

जुन पुस्तकले प्रगतिशील राजनीति, साहित्य र पत्रकारीताका बारेमा बुझ्न पाठकलाई सहजता प्रदान गर्नेछ । पुस्तक २०८ पेजमा संरचित छ । पुस्तक हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।