काठमाडौं । जेठ महिनाभित्रै चुनाव गर्ने सत्ताधारी गठबन्धनबीच सहमति भएसँगै स्थानीय चुनावको सुरक्षामा खट्ने सुरक्षाकर्मीले नयाँ गाडीहरु किन्नु पर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएका छन् । गाडीसँगै आवश्यक सुरक्षा खर्चको जोहो गर्नका लागि पनि लेखिपठाएका छन् ।
समय छोटो भएकाले यो काम छिट्टै गरिनु पर्ने प्रहरी प्रशासनको माग रहेको छ । तर गृहप्रशासन भने चुनावको तिथिमिति घाोषणा नहुँदै यसरी बजेट निकासा गर्न नमिल्ने तर्क गरिरहेको छ ।
नेपालमा गाडी निकासा गर्नका लागि पनि निकै सामाधामाको तयारी गर्नुपर्छ । यसैका लागि पनि बजेट अहिल्यै निकासा गरिदिए भनेको समयमा गाडी आइपुग्ने प्रहरी प्रशासनको चाहना रहेको छ ।
गाडीको समस्या झेलिरहेको प्रहरी प्रशासन सबैभन्दा पहिले सुरक्षाकर्मी ओसार पसारका लागि नयाँ गाडीको पर्खाइमा रहेको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले यसका लागि ९ अर्ब रकम माग गरेको पत्रकारहरुका बीचमा बताइसकेका छन् ।
पुराना गाडी विस्थापन र नयाँ खरिदका लागि माग जानकारी पहिले नै अर्थ मन्त्रालयमा लेखापढी गरेर पठाइसकिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ । कार्यालयका अनुसार यदि उक्त रकम प्राप्त भएपनि त्यही खर्चमा चुनावका लागि आवश्यक गाडी खरिद गर्न सकिन्छ ।
यता चुनावको तिथिमिति घोषणा गरिसकिने तर उता बजेट आउन ढिलाइ भएमा प्रहरीलाई निर्वाचनको तयारी र सुरक्षाका लागि आवश्यक पर्ने सवारी साधन खरिरद गर्न नसकिने भएमा त्यसले निर्वाचन सुरक्षामा सुरक्षाकर्मी परिचालनमा व्यवधान निम्त्याउने देखिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय र सहरी क्षेत्रका प्रहरी युनिटसँग भएका पुराना गाडीहरूको भरमा चुनावको सुरक्षा निकै सकसपूर्ण हुने भनी चिन्ता जाहेर भैरहेका बेला उता पार्टीका नेताहरु भने जसरी पनि आगामी चुनाव जितेर आफूहरुले पनि गाडीघोडा किनेर सयर गर्ने सोच बनाउन थालिसकेका छन् ।