मोरङ । पूर्वी नेपालबाट फेरि पनि बर्डफ्लु संक्रमण भित्रिएको छ । यसको पुष्टि भएसँगै मोरङ जिल्लामा कुखुरा नस्ट गर्ने काम सुरु भइसकेको छ । अहिले ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्डफ्लू लागेका पंक्षी नष्ट गर्ने काम थालिएको छ ।
संक्रमित कुखुरामा बर्डफ्लूको एच फाइभ एन वान भेरियन्ट पाइएको छ । मोरङको पशु सेवा विभागले जनाए अनुसार यसलाई अन्यत्र फैलन नदिन सचेतता पनि अपनाइएको छ ।
विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी समेत दिएको छ ।
कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरिसकिएको छ । परीक्षणमा बर्डफ्लु नै आएको पुष्टि भएपछि १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजी दाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएको छ ।
‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ । यो हाल मानिसमा सरिरहेको ओमिक्रोन जस्तै संक्रामक र आक्रामक रहने गरेको छ । यसलाई मानिसमा समेत हानी पुर्याउने फ्लुको वर्गमा राखिएको छ । यो फ्लुको संक्रमणबाट नेपालमा २०७५ चैत्र १५ मा काभ्रेका एक युवकको मृत्यु भएको पुष्टि भएको थियो ।