काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा सदस्यको यही माघ १२ गते भएको निर्वाचनकोे प्रतिवेदन पेस गरिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्न संविधान तथा सङ्घीय कानुनबमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि सदा तयारी अवस्थामा रहन आग्रह गरे।
राष्ट्रपति भण्डारीले आगामी निर्वाचनमा समेत आवश्यक सम्पूर्ण तयारी पूरा गर्दै आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संविधान र कानुनले तोकेबमोजिमको समयमा सबै तहका निर्वाचन सम्पन्न गर्न सक्ने विश्वाससमेत व्यक्त गरेकी छिन् । संवैधानिक व्यवस्थानुसार निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीबीचमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गरिन् ।
प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकामा नौ राजनीतिक दलका ४३ उम्मेदवारबीच प्रतिस्पर्धा भएको बताए।
उक्त निर्वाचनमा सातै प्रदेशका कूल दुई हजार २५ मतदातामध्ये दुई हजार सात मतदाताले मतदान गरेकामा सोही दिन साँझ मतगणना गरी निर्वाचित राष्ट्रियसभा सदस्यहरूको नतिजासमेत प्रकाशन गरिएको व्यहोरा अवगत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।