काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले राजनीतिक नियुक्ति, सचिव बढुवा देखि अस्पताल निर्माणको प्रस्ताव पारित गरेको छ । सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । लोकसेवा आयोगको बढुवा समितिले तीन सहसचिवको नाम प्रस्ताव गरेकोमा पहिलो नम्बरमा रहेका दंगालको बढुवा भएको हो ।
बैठकले दंगाललाई प्रदेश नं २ को प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको प्रमुख सचिवमा कृष्णबहादुर रावतलाई खटाउने निर्णय गरेको छ ।
नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवानिकट पत्रकार हुन् ।
यसैगरी, भरतपुर महानगरपालिकामा केन्द्रीय शिक्षक अस्पताल बनाउने प्रस्ताव पारित भएको छ ।