• फाल्गुन ३० २०८२, शनिबार

त्रिवेणी दुम्कीवास सडकखण्डको काम अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल

माघ १७ २०७८, सोमबार

पोखरा । गण्डकी प्रदेशको त्रिवेणी दुम्कीवास सडकखण्डको काम अगाडि बढ्ने भएको छ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने निधो भएको हो । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन ।

मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको सपना अब साकार हुने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे । ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो काम गर्न सकेन, किन सकेन भने निकुञ्जका कारणले सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रिया सुरु भएको छ, अब वातावरणीय प्रभाव अध्ययनको काम सुरु हुन्छ ।

’ सुरुङ मार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने उनको भनाइ थियो । ८ किलोमिटर निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको उनले बताए । यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने उनको भनाइ छ ।

यो बाटोको महत्वका बारेमा मुख्यमन्त्री पोखरेलले सोमबार वन मन्त्रालयमै पुगेर मन्त्रीलाई अवगत गराएका थिए । त्यसलगत्तै सचिव कँडेलले फाइल सदर गरे ।