अखबारको अग्र भागमा समाचार छापियो
-डनहरूलाई अब बहिष्कार अभियान सुरु
अनलाइन खबरले उही समाचार पोष्ट गरे
-देशभरका भ्रष्टहरूलाई बहिष्कार !
केही थान फेसबुके पत्रकारहरू पनि
आफ्नो फेसबुक वालमा लेख्न भ्याएछन्
-आजदेखि म पनि दलालहरूलाई बहिष्कार गरें
–-कर छलि गर्ने शासकहरूलाई बहिष्कार गरौँ ।
जवाफमा आयो
केही झोलबोकहरूले
फेरि मालिकहरूका भक्त भजन गाउन थालेछन्
-देश लुट्नेहरूलाई बहिष्कार गर्न सकिन्छ,
तर फलानो नेता बहिष्कार गर्न सकिन्न ।
-कर उठाउन नसक्ने हुतिहाराहरूले
कारखाना बन्द गर्न लगाउँदैछन्
-चुनावमा ब्यापारीको पैसाले
रक्सी मासु खाएकाहरूले पैसा फिर्ता गर्छन् कि नाई ?
-व्यापारी बहिष्कार गर्नेले
दलाल सरकार बहिष्कार गर्छन् कि गर्दैनन् ?
सवाल जवाफ अझै जारी छ
एक अधिवक्ताले वाक–मन्तव्य सार्वजनिक गरे
-कर तिर्नु पर्ने समयसीमाकै दिन कम्पनीले
उल्टै मुद्दा दायर गर्यो
जवाफ आइपुग्यो
-अन्धहरूको अदालतमा अन्धकानून चल्छ हजुर !
-न्यायालय शासकहरूको हो र भाटहरू चलाउँछन्
र, फलानो कम्पनी विदेशीको हो तर जनताले चलाउँछन्
-महल र पहुँच हुनेहरूको सरकारी न्याय चल्छ
झुप्रा र दूरदराजमा जनदालत चल्छ ।
अर्को प्रश्न तेर्सियो
फलानो कम्पनी बहिष्कार गर्नेहरू स्वीस बैंक,
सिमेन्ट कम्पनि र देश लुट्ने लुटेराहरूलाई
किन बहिष्कार गर्दैनन् ?
फेसबुकले जवाफ फर्काउँछ
-स्वीस बैंक गरिबहरूको पहुँचमा छैन,
सिमेन्ट कम्पनी झुपडीमा आउँदैन
लुटेराहरू कर नउठे चन्दा उठाउँछन्
कर उठे झ्वाम पार्छन्
र अहिले भाटहरू तलुवा चाट्नकै लागि
मालिकको निर्देशनमा जन दवावको नाममा बहिष्कार गर्दैछन् ।
अर्को जवाफ आयो
-डाँकाहरू !
पहिले आफ्ना मालिकहरूको आचरण सुधार
चन्दा आतङ्क बन्द गर
घुसखोर बन्द गर
कमिशन बन्द गर
प्रकृया र सुशासन कायम गर
होइन भने
तिमीहरू र दलाल एउटै ड्याङको मूला न हौ
यसकारण भो बहिष्कारको कुरा नगर ।