काठमाडौँ । अमेरिका र क्यानाडाको सीमाबाट माल ओसार पसार गर्ने ट्रक चालकहरुलाई कोरोना भाइरस विरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरुद्धमा चालकहरुले गरेको प्रदर्शनका कारण क्यानाडाको राजधानी शहर ओटावा दुई दिनदेखि ठप्प भएको छ । चालकहरुको प्रदर्शन अभद्र समेत भएको बताइएको छ । बीबीसीका अनुसार प्रदर्शनका कारण असुरक्षा महसुस गरेर देशका प्रधानमन्त्री जस्टिन टुडोले नै सपरिवार शनिबार ओटावास्थित आफ्नो निवास छोडेका छन् ।
राजधानी ओटावामा प्रदर्शनकारीहरुले ‘फ्रिडम कन्भोई’ नामबाट गरिएको प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरु सहभागी भएको अन्तरराष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् । २० हजारबढी ट्रक चालकहरुले क्यानाडाको संसद भवन वरपरका सडक र गल्लीहरुमा ट्रक राखेर प्रदर्शन गरि सडक अवरुद्ध गरेका छन् ।

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन सुरु भएको भएपनि अहिले आएर प्रदर्शनमा अरु माग पनि थपिएका छन् । प्रधानमन्त्री टुडोले केहि दिन पहिले प्रदर्शन सुरु हुँदा एउटा पत्रकार सम्मेलन गर्दै प्रदर्शनकारीहरुलाई सानो संख्यामा रहेका अल्पसंख्यक भनेर बोलेपछि प्रदर्शन उग्र रहेको बताइएको छ ।
त्यहाँको विपक्षी पार्टी कन्जरभेटिभका नेता एरिन ओटुले प्रदर्शनकारीहरुलाई भेटेर शान्तिपूर्ण प्रदर्शनको आफ्नो पार्टीले समर्थन गर्ने अभिव्यक्ति दिएपछि प्रदर्शनकारीहरु उत्साहित भएको जनाइएको छ । तर विपक्षी नेता ओटुले ओटावामा रहेको स्मारकहरुको अपमान गर्ने कार्यको भने समर्थन गरेका छैनन् । त्यस्ता कार्यको भने विपक्षी नेताले आलोचना गरेका छन् ।
प्रदर्शनकारीहरुले केहि उपद्रो समेत गरेको भनेर उल्लेख गरिएको छ । प्रदर्शनको क्रममा उनीहरुले सो प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिन्ह अंकित झण्डा देखाएर एकजना अज्ञात सैनिकको चिहानमा नाच्दै गरेको भिडियो सार्वजनिक गरेका थिए । ओटावाका मेयर जिम वाट्सनले बताए अनुसार प्रदर्शनकारीले एउटा रेष्टुरेन्टका कर्मचारीहरुसँग सित्तैमा खानेकुरा माग्दै रेष्टुरेन्टका मानिसलाई दुव्र्यवहार गरेका छन् । सो रेष्टुरेन्टमा भित्र पस्दा मास्क लगाउनुपर्ने नियम मान्नुपर्ने भन्दै रेष्टुरेन्टका कर्मचारीहरुले बताउँदा ती प्रदर्शनकारीले दुव्र्यव्यवार गरेको उनले बताए ।

प्रदर्शनकारीको अभद्र व्यवहारको अनुसन्धान थालिएको त्यहाँको प्रहरीले बताएको छ । क्यानाडाका रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरु निन्दनीय भन्दापनि माथि भएको प्रतिक्रिया दिएकी छिन् । ओटावा प्रहरीले राजधानी शहरका स्मारकहरुलाई अपवित्र परेको विषयमा अनुसन्धान थालिएको बताएको छ । त्यस्तै प्रहरीले प्रहरी, नगर कर्मचारी साथै अन्य मानिसहरुलाई दिइएको धम्की र गरिएको धम्कीपूर्ण व्यवहारको समेत अनुसन्धान गरिरहेको बताएको छ ।
क्यानाडा र अमेरिकाका सीमा वारपार गर्ने ट्रक चालकहरुमध्ये करिब ९० प्रतिशतले कोरोना विरुद्ध खोप लगाइसकेका छन् । कयौं प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोप कार्डलाई अन्त्य गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री टुडोको सरकारले जनवरी २५ तारिखमा कोरोना खोप सम्बन्धि एउटा अध्यादेश जारी गरेको थियो ।
अध्यादेशमा खोप नलगाएका क्यानेडियन ट्रक चालकले दुई देशको सीमा पार गरेपछि क्वारिन्टीनमा बस्नुपर्ने नियम लगाएको छ । हालै अमेरिकाले पनि विदेशी ट्रक चालकहरुले अमेरिका प्रवेश गर्दा खोप लगाएको प्रमाण देखाउनुपर्ने नियम लगाएको बताएको छ ।