• मंसिर ९ २०८१, आईतवार

जेठमा हुने स्थानीय तहको चुनावका लागि मिति तोक्न गृहकार्य गर्दै आयोग

माघ १७ २०७८, सोमबार

काठमाडौं । जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत भएसँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचनकोे मिति सिफारिस गर्न गृहकार्य अघि बढाएको छ ।

निर्वाचनको मिति तोक्न चौतर्फी दबाब परेपछि सत्ता गठबन्धनले आयोगसँग परामर्श गरेर जेठ महिनामै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने भनेकाले निर्वाचनको मिति सिफारिसका लागि तयारी गरिरहेको जानकारी दिँदै भने, ‘एकै चरणमा निर्वाचन गर्ने हो भने यो मिति वा कारणवश दुई चरणमा निर्वाचन गर्ने हो भने यो यो मितिमा गर्ने भनेर प्रस्तावित गर्नेछौं ।’

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ कार्य सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १ सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।

आयोगले यसअघि २०७९ साल वैशाख १४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो ।

दुई चरणमा गर्ने भएमा पहिलो चरण सो मितिमा र दोस्रो चरण वैशाखको २२ गते बिहीबार गर्न उपर्युक्त हुने सुझाव सरकारलाई दिएको थियो ।

अब जेठमा निर्वाचन गर्ने भएपछि अर्को मिति सिफारिस गर्न आयुक्तहरूमाझ छलफल गरेर प्रधानमन्त्रीले बोलाएको बेला नयाँ मिति सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउए । यो समाचार राजधानी दैनिकमा छ ।