• बैशाख १८ २०८२, बिहीबार

पेशागत मर्यादालाई मध्यनजर गर्दै सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षकको निर्देशन

माघ १६ २०७८, आईतवार

गोरखा । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिकूल अवस्थामा समेत पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार गोरखा जिल्ला प्रहरी कार्यालयमा भएको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा महानिरीक्षक थापाले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागि प्रहरी दिनरात खटिनुपर्ने बताए । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने भन्दै उनले समयसापेक्ष नविनतम् प्रविधिसँगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनुपर्ने पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले सांगठनिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण कार्यलाई प्रहरीले निरन्तरता दिँदै आएका बताए ।

कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलगायतले धारणा राखेका थिए ।

नेपाल सरकारको ९ करोड २५ लाख १ सय ९५ रुपैयाँको लागतमा मुख्य कार्यालय, प्रहरी मेश, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारी ब्यारेक, हिरासत कक्ष गरी जम्मा ६ ओटा भवन निर्माण गरिएको छ ।