• मंसिर १८ २०८१, मंगलवार

यसरी पत्ता लाग्यो बिना रसायन पानी शुद्ध बनाउने विधि

माघ १६ २०७८, आईतवार

काठमाडौँ । पानी मानिसको जीवन बाँच्नको लागि नभै नहुने हावा पछिको दोस्रो अत्यावश्यकीय वस्तु हो । भनिन्छ नि,‘पानी छैन त मानिसको जीवन छैन र छैन जवानी पनि छैन । पानी भएर मात्रै हुँदैन । प्राणी जगतको लागि चाहिने पानी स्वच्छ पनि हुनुपर्छ । अर्थात् स्वच्छ पानी नै मानिसको जीवनको आधार हो । मानव जीवनका लागि जति पानीको आवश्यकता रहेको छ त्यति नै शुद्ध पानीको आवश्यकता झन् बढी रहेको छ ।

पानी मानव जीवनको आधार हो तर पानी नै मानिसको विनासको समेत कारण हुने गरेको छ । किन कि शुद्ध र स्वच्छ पानीले मानिसको जीवन स्वस्थ्य हुन्छ भने फोहर तथा अशुद्ध पानीले मानिसको जीवन बर्बाद पार्छ । पानी मार्फत् धेरै रोगहरु समेत फैलने गरेका देखिन्छन् भने फोहर पानीले मानिसको शरिरमा अस्वस्थता ल्याउने मात्रै होइन ज्यानै समेत गुम्नसक्छ ।

एक तथ्याङ्क अनुसार संसारको गणना भएका जनसंख्यामा रहेका करिब सात अरब मानिसहरूमध्ये करिब १ अर्ब ८० करोड मानिसहरु दिसाको अंश मिसिएको दुषित पानी पिउने बाध्य छन् । त्यस्तै आजको अवस्थामा करिव २ अरब १० करोड मानिस सुरक्षित खानेपानीबाट समेत बञ्चित रहेका छन् । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार असुरक्षित पानी र फितलो सरसफाइका कारण हरेक वर्ष संसारमा करिव ८ लाख ४२ हजार मानिसहरुले ज्यान गुमाउनु परिरहेको छ ।

अब सवाल उठछ, आखिर पृथ्वीमा ७५ प्रतिशत भाग पानीले ओगटेको छ भने किन पानीको कारण मानिसले यस्तो समस्या झेल्नु परिरहेको छ त ? जवाफ पनि उतिखेर नै पाउन सकिन्छ, पृथ्वीमा जति पानी रहेको छ त्यसको करिव ३ प्रतिशत मात्र खासरुपमा प्रयोगमा आउन सक्छ । अर्को एक तथ्याङ्कलाई हेर्ने हो भने आज संसारमा पानीको प्रयोगको अवस्थालाई केलाउँदा पानी सिचाईमा ६९ प्रतिशत, उद्योगहरुमा २० प्रतिशत, घरायसी प्रयोजनहरुमा १० प्रतिशत र पिउनको लागि एक प्रतिशत मात्रै प्रयोग भएको छ ।

माथि पानीका विभिन्न आयामहरूबारे केहि कुरा भनियो । यहि मेसोमा पिउने पानीबारे एउटा नयाँ आविष्कार सम्पन्न भएको छ । अफ्रिकी देश युगान्डामा एक वैज्ञानिकले हड्डी र खानेकुराहरुबाट निस्केको फोहर प्रयोग गरेर पानी शुद्ध बनाउने एउटा प्रणाली विकास गरेका छन् । एउटा भिडियोमा वैज्ञानिक तथा रसायनशास्त्री टिमोथी कायोण्डोले खानेकुराबाट निस्केको फोहर र हड्डीहरुलाई प्रयोग गरेर बनाइएको एक सानो मेसिनमा रंगीन र अशुद्ध पानीलाई स्वच्छ र शुद्ध बनाएर देखाएका छन् ।

उनले सो प्रविधिको नाम ‘ईको मोबाइल प्युरिफायर’ राखेका छन् । उनले भने, ‘लामो अध्ययन गर्दै जाँदा कुनै रसायन बिना नै पानीलाई शुद्ध बनाउन सकिन्छ जस्तो लाग्यो ।’ सो प्रविधि आविष्कार गर्ने रसायनशास्त्री टिमोथी कायोण्डो र उनको समूहले खेर गएको खाद्यपदार्थ जम्मा गर्छ र छान्छ । त्यसपछि बोक्रा र हड्डी सुकाउँछ । सुकेपछि त्यसमा इन्जाइम हालिन्छ । यति गरिसकेपछि एक्टिभेटेड कार्बन बन्छ, जो स्वभावैले कालो हुन्छ । सो एक्टिभेटेड कार्बनलाई उनले बनाएको कार्टिजमा हालेर बनाएको उपकरणमा राखिन्छ ।

वैज्ञानिक कायोण्डोले बनाएको पानी शुद्ध गर्ने प्रणालीमा दुइवटा कार्टिज रहेका छन् । एउटा कार्टिज एक्टिभेटेड कार्बन र अर्को कार्टिज बालुवा राखेको । उनले निर्माण गरेको प्रणालीमा सूर्यको परावैजनी किरण पनि भित्र पठाउने एउटा बटन समेत रहेको छ । सो मेसिनमा पाइपबाट हालिएको अशुद्ध पानी दुई मिनेटमै शुद्ध भनेर मेसिनको अर्कोपट्टी धारा बनेर निस्कन्छ ।

उनले बनाएको एउटा मेसिनलाई २ सय अमेरिकी डलर जति पर्ने उनले बताए तर युगाण्डाका सर्वसाधारण जनताहरुको लागि एउटा पानी शुद्ध बनाउने मेसिन किन्न २ सय अमेरिकी डलर खर्छ गर्नु धेरै महँगो कुरा भएको समेत बताइन्छ ।