‘पिउन हुन्न भन्नेहरु हो, पिएर त हेर पिउन कति गाह्रो छ
मरेर सहिद हुनेहरु हो, जियर त हेर जीउन कति गाह्रो छ ।’
कवि भूपी शेरचनका उद्धृत कवितांश आजकै माघ १६ गते लेखिएका हुन् कि जस्तो लाग्छन् । देशभरका उच्च पदस्थ सरकारी मानिसहरुको सहिदको प्रतिमामा माल्यार्पणका लागि दौडधूप चलिरहेको छ ।
स्याल्युट अर्पण भैरहेको छ । रंगरोगन, फूलमाला र अबीरलेपन चलिरहेको छ, पालैपालो । प्रतिमातिर फर्किएर ढोंगपूर्ण नमस्कारको ओइरो लागिरहेको छ । उनीहरुको एउटै आशय छ, उच्चपदस्थले सहिद दिवस मनाए भन्ने खबर फैलियोस् देशभर ।
वक्तव्यको पनि ओइरो लागिरहेको छ । ताकि अखबारका पानाहरुमा उनीहरुको नाम हेड लाइनमा छापियोस् र सन्देश जाओस् कि ‘उनीहरु’ले सहिदको स्मरण गर्न भुलेनन् र छुटाएनन् पनि ।
सहिदले के कस्ता सपना देखेर आफ्नो प्राणोत्सर्ग गरेका थिए, त्यसको मतलव छैन । तर सहिद दिवसका दिन कसले ‘सलाम खायो’ र ‘मञ्च पायो’ अनि मञ्चमा उभिएर के ‘गफ लगायो’ यसको भने भारी मतलव छ ।
सहिदले देखेको सपनाका नाममा उच्च पदस्थहरु कुर्सीमा विराजमान हुन पाए, सहिदका सपना साकार भए । सहिदका परिवार कहाँ छन्, मतलव छैन । किनकि सहिद अब सिमेन्टको मूर्ति र कागजी फोटोमा कैद हुन गएका छन्। कागज र पाषाणमा अबीर लेपन गरिदिए उनीहरुको सम्मान हुने भएको छ ।
ढुंगा र कागजी तस्वीर पुज्ने संस्कार भएको हाम्रो देशमा मानिसको पुजा किन गर्नु ? शहीद परिवारको खोजी किन गर्नु ? किनकि कुपोषणले ग्रस्त सन्ततीतिर पिठ्युँ फर्काएर चील नाच्ने आकाशतिर फर्की दूधले पकाएको पास वा पिण्ड हुर्याउने हामीलाई त्यति नै पर्याप्त छ ।
भक्ति थापाका सन्तती कहाँ छन्, थाह छैन । लखन थापाका पुस्ता कहाँ छन्, मतलव छैन । राणा शासनविरुद्ध लड्ने शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालका आफन्त कहाँ छन्, खोजी छैन ।
झापा आन्दोलन, २०४६ सालको संसद पुनर्स्थापनाको आन्दोलन, २०५२ सालको जनयुद्ध, २०६३/०६३ को जनआन्दोलन र मधेश आन्दोलनका सहिदहरुको घरमा कोही पुगे कि पुगेनन्, यो पनि थाह छैन ।
मूर्ति कहाँ राखिएका छन्, फोटो कुन पुस्तकमा छापिएका छन् । सहिद परिवारले सामाजिक सञ्जाल फेस बुकमा फोटो राखेका छन् कि ? बस् खोजी यसैको छ, औपचारिकताका लागि ।
अब त जमाना यस्तो पनि आयो, मानिसको युवावस्थामा बनाएको नागरिकताको फोटो बूढेस कालमा अनुहारसँग मिलेन भने त्यो मानिस ‘नक्कली’ तर उसको युवावस्थामा बनाइएको नागरिकता ‘सक्कली’ ठहर हुने भयो ।
शायद उच्च पदस्थहरु पनि शरीररुपी नक्कलीहरुलाई छाडेर फोटोरुपी र मूर्तिरुपी सक्कलीको खोजीमा बानी परिसके । यसैले मानिसलाई यथार्थताबाट टाढा पुर्याइरहेको छ । मानिस नितान्त ढोंगी, औपचारिक र बेढंगको ‘स्मार्ट’ बनिरहेको छ ।
यसले सहिद दिवसलाई सजीवता, जीवन्तता र अनुभूत हुनबाट टाढा बनाउँदै केवल औपचारिकतामा सिमित गर्दै लगिरहेको छ ।