• बैशाख १८ २०८२, बिहीबार

सरकारकाे सम्पत्ति निजी क्षेत्रलाई प्रयाेग गर्न दिँदैनाैँ : मन्त्री पाैडेल

माघ १६ २०७८, आईतवार

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा रहेका सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। मन्त्री पौडेलले आइतबार केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन्।

उनले विभिन्न सञ्चारमाध्यममा केशर महलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए । उनले सरकारी संरचनाहरु नियम विपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गरे।

मन्त्री पौडेलले भने, ‘केशर महल ऐतिहासिक स्थान हो, जतिबेला नेपालमा शिक्षाको विकास सुरु भयो त्यतिबेलादेखि नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रूपमा छ । यहाँ भएका भौतिक वस्तुहरू खासगरी पुरातत्त्वसँग सम्बन्धित वस्तुहरूको सुरक्षाको कुरा, संरक्षणको कुरा, पुराना पुस्तकहरूको संरक्षण गर्ने कुरा अहिले मन्त्रालय मातहत भएको हुनाले यसको स्वरूप र प्रकृति हेर्न यहाँ आएँ । त्यसका साथै यसको बाहिरकाे जमिनको कुरालाई लिएर केही सामाजिक सञ्जाल, पत्रिकामा समाचार प्रकाशित भएको पनि जानकारी पायाैँ । मन्त्रालय मातहतका निकायहरूले निजी क्षेत्रलाई निजी प्रयोजनका लागि बाहिरपट्टिको जमिन दिन खोजेको हो कि भन्ने आशयकाे कुराहरू आएको हुँदा यसमा मेरो पनि ध्यानाकर्षण भएर कुरा हो । कुनै निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यस प्रकारको भौतिक सम्पतिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन । कहीँ कतै भएकाे भए हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ ।’

मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरू व्यवस्थित गर्नका निम्ति भौतिक ठाउँको अभाव भएको समेत बताए । उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्ने गरी लाग्न पनि निर्देशन दिए ।

केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ रहेकाे स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।