काठमाडौं । विश्वका सबै राष्ट्रका सीमांकन, रक्षा र त्यसभित्रको शासन प्रणाली विकासका लागि वीर सपुतको अमूल्य योगदान रहेको हुन्छ । यही अर्थमा हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरुलाई उच्चकोटीमा राखी मूल्यांकन र सम्मान गर्ने गर्दछन् ।
थोरै बाँचेर पनि आफ्नो अदभ्य जोश, जाँगर, सुरता, वीरता, त्याग र बलिदानीले आफ्नो मातृभूमिको सेवा गर्दागर्दै शहादत प्राप्त गरेका व्यक्तिहरु नै शहीद हुन् । उनीहरु नै युगयुगान्तसम्म बाँचिरहन्छन् ।
बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा आदि यस कोटीका शहीदमा पर्दछन् । देशको सीमांकन, भूगोलको आकार प्राप्तिसँगै त्यसमाथि गरिने जनमुखी शासन र जनताको विश्वाससँगै जनादेशको आवश्यकता पर्दछ । बलिदानबाट प्राप्त गरिएको राष्ट्रमा जनताको चाहना र भावनाअनुसार शासन गरिनु पर्छ भन्ने अपेक्षा जनतामा हुन्छ ।
समयानुकूल शासन व्यवस्था परिवर्तनका लागि पनि फेरि उत्तिकै उच्च त्याग र बलिदानको आवश्यकता जरुरी हुन्छ । यसलाई हरेक देशमा प्रजातन्त्र प्राप्तिको आन्दोलनका रुपमा लिइन्छ । यो विशेषतः सम्बन्धित राष्ट्रको व्यवस्था परिवर्तनसँग जोडिएको हुन्छ । नेपालका शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ तथा दशरथ चन्दआदि प्रजातन्त्र प्राप्तिका लागि गरिएको ऐतिहासिक आन्दोलनका शहीद हुन् ।
हाम्रो देशमा हजारौंको संख्यामा वीर शहीदहरु छन् । उनीहरुले नेपाली जनता र नेपाल आमाको खुसीको लागि आफ्नो खुसी छोडेर गएका छन् । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यिनै राष्ट्रप्रेमी तथा प्रजातन्त्रप्रेमी अग्रज शहीदहरुको स्मरण र श्रद्धाको महत्वपूर्ण दिन हो ।
तिनै शहीदहरुले दिएका अमूल्य योगदानमा टेकेर आज हामीहरु यो अवस्थामा बाँचिरहेका छौं । त्यसैले यो दिवस ती अमर शहीदहरुको स्मरण गरेर मात्र पूरा भएको मानिदैन । उनीहरुको प्रतिमामा माल्यार्पण गरेर मात्र हामी र हाम्रा नेताहरुको कर्तव्य पूरा हुँदैन ।
यसका लागि हामीले हाम्रो देशको सार्वभौमसत्ताको रक्षा र जगेर्ना गर्न सकेको हुनु पर्छ । वीर शहीदको बलिदानबाट प्राप्त प्रजातन्त्रको रक्षा र सुदृढीकरण हुँदै गएको हुनुपर्छ । यस अर्थमा शहीदको नामोच्चरण गरेर मात्र शहीदहरुप्रति राजनीतिक नेताहरुको कर्तव्य पूरा भएको मान्न सकिने अवस्था छैन ।
हरेक वर्ष झैं यस वर्ष पनि शहीद गेटमा पुगेर गन्यमान्यहरुले शहीदको प्रतिमामा माल्यार्पण गरे । श्रद्धा र भक्तिभाव प्रकट गरे । तर शहीदगेट पुगेर औपचारिक रुपमा शहीदहरुको प्रतिमामा माल्यार्पण गरी एक मिनेट मौनधारणा गर्दैमा शहीद दिवसको सार्थकता पूरा हुन सक्ने अवस्था छैन ।
जसले देश र प्रजातन्त्रका लागि भनेर आफ्नो जीवन बलिदान गरे, तिनै शहीदका परिवारहरु आज बिचल्लीमा परिरहेका छन् । उनीहरुले अत्यन्त दयनीय जीवन गुजारा गरिरहेका छन् । तर उनीहरुको यो दयनीय जीवनमाथि हाम्रो देशमा सत्तासीन दल तथा सरकारको नजरसम्म पुगिरहेको छैन ।
एक सय चार वर्षीय जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र तीस वर्षीय निरंकुश पञ्चायती कालरात्री अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन आफूलाई बलिवेदीमा होमेका वीर शहीद र उनका परिवार आज बिर्सिएको अवस्थामा छन् । त्यसैले शहीद दिवस आज एक औपचारिक समारोह र स्मरणमा मात्र अभिव्यक्त हुन पुगेको छ ।
वीर शहीदहरुले प्राणको बाजी लगाएर तात्कालीन तानाशाही व्यवस्थाविरुद्ध सिंगौरी खेलेर आजको यो अवस्थासम्म हामीलाई ल्याइपुर्याए । पछिल्लो समयको माओवादीको १० वर्षे सशस्त्र युद्ध र २०६२/०६३ को जनआन्दोलन–२ ले देश संघीयता, समावेशिता र समानुपातिकताको आजको अवस्थामा आइ पुग्यो । देशमा अहिले संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार छन् ।
राज्य संरचनाका हिसाबले तीन तहका सरकार निर्माण भएपछि देशको कुनाकुनामा विना ढिलाइ सेवा र सुविधा प्रवाह गर्न सकिने अवस्थाको सिर्जना भए पनि जनतामा अपेक्षाकृत सेवा सुविधा पुग्न सकेको छैन । बरु उल्टै हरेक तहमा अराजकता, स्वार्थिपना, भ्रष्टाचार, अनियमितता, जनउपेक्षाजस्ता अनुत्तरदायी व्यवहारले स्थान लिँदै जान थालेका छन् ।
यो सबैका लागि निकै विडम्बनाको कुरा हो । एकपछि अर्को गरी निरन्तर चलिरहेका युद्ध, संघर्ष, जनआन्दोलन र विरोध प्रदर्शन निरन्तर भैरहँदा पनि शहीदले देखाएको बाटो भुल्न खोज्नुले जनतामा आशंका जन्माउन थालेको छ ।
देशको स्वतन्त्रता र रक्षाका लागि आफ्नो जीवनको बलिदान दिएका शहीद परिवारले आज विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिबाट सामिप्यताको आशा र अपेक्षा गरिरहेका छन् ।
जनताले शहीदहरुको अपेक्षा र सपनाअनुसार जनप्रतिनिधिहरुले काम गरेको देख्न चाहिरहेका छन् । शहीद परिवारले आफूलाई केही देऊन् भन्ने होइन, बरु सिंगो देश र जनतालाई शहीदले चाहेको बाटोमा अघि बढाऊन् भन्ने अपेक्षा गरिरहेका छन् ।