विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्पूर्ण सहिदहरूको बलिदानले नै मुलुकमा विकास र समृद्धिको ढोका खुलेको बताएका छन् ।
सहिद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै मुख्यमन्त्री राईले राणा शासनविरोधी आन्दोलनका सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायत लोकतन्त्र, जनाधिकार, न्याय, समानता र जनजीविका प्राप्तिका लागि महान सहिदहरूको त्याग र बलिदानको परिणामस्वरुप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, संघीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको बताएका हुन् ।
राणा शासन सुरु हुनु अघिदेखि राणा शासनविरुद्धका आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, पछिल्लो गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा हजारौं नेपाली जनताले ज्यान गुमाएको स्मरण गर्दै सहिदहरूको त्याग र बलिदानबाट थुप्रै उपलब्धिहरू प्राप्त भएका र अझै पनि केही उपलब्धिहरू प्राप्त हुन बाँकी रहेको बताउदै अब बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढ्न सबैलाई आह्वान पनि गरेका छन् ।