• असार १३ २०८१, बुधबार

अहिलेको पुस्ताले जान्नै पर्ने इतिहास : सहिद दुर्गानन्द झालाई आजकै दिन किन मृत्युदण्ड दिइयो ?

माघ १५ २०७८, शनिबार

दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन् । राजा महेन्द्र शाहको २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरुद्ध उत्रेका उनले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए । सोही अभियोगमा पक्राउ परेका उनलाई राजाको पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो ।

झाको जन्म वि.सं १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटियामा आमा सुकुमारी देवी झाको गर्भबाट भएको थियो । बाबु देवनारायण झा उनी सानो छँदै बितेका थिए । दुर्गानन्द सानैदेखि राम्रो फुटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे । नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उँमगाउँको एउटा विद्यालयमा भर्ना भएका थिए ।

१८ वर्षे दुर्गानन्दले जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै राजालाई ग्रिनेड प्रहार गरेका थिए । प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टी सामान्य क्षति भएपनि राजालाई भने केही भएन । त्यसपछि दुर्गानन्द भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे । यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो ।

दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए । गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई सुन्धारास्थित भद्रगोल जेलमा राखियो । यो मुद्धाको छानबिन गर्नका लागि एक विशेष अदालतको गठन गरिएको थियो । २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो ।

उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गतेको मध्यरातमा केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो ।

मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केही बेर भेटेर सान्त्वना दिए । दुर्गानन्दलाई विभिन्न शारिरीक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले मानेनन् । फलस्वरुप उनलाई मृत्युदण्ड दिइयो । आमा लगायत परिवारले माग्दा पनि पञ्चायत सरकारले उनको लास दिएन ।

कुशको लास बनाएर भारतको गयामा उनको दाहसंस्कार भयो । दुर्गानन्दकी आमाको २०६० भदौ ३१ गते निधन भएको छ । राजा महेन्द्रको गाडीमाथी २०१८ साल माघ ९ गते झाले जनकपुरमा बम प्रहार गर्दा बमले राजाको गाडीको सिसा मात्र फुटेको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’को विरोधमा नेपाली काङ्ग्रेसले संघर्षको घोषणा गरेपछि झाले बम प्रहार गरेका थिए ।

झा ब्राह्मण थिए । सो समयमा ब्राह्मणलाई मृत्युदण्ड दिने कानुन थिएन । तर कानुन संशोधन गरेर उनलाई मृत्युदण्ड दिइएको थियो । पछि गणतन्त्र स्थापना भएपछि मात्रै २०७२ साल फागुन १९ गते उनलाई सहिद घोषणा गरिएको थियो ।