बेनी । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर यतिबेला निकै चर्चित भएको छ । अहिले त्यहाँ गएर तस्विर लिनेको घुइँचो नै लागेको छ । केही समयअघि रत्नेचौरका सम्मपरेका बारी र खेतहरुमा तोरी फुलेर ढकमक्क भएको र त्यसकै बिचमा बनाइएको चिल्लो सडकको तस्विर एकजना स्थानीयले सामाजिक सञ्जालमा राखेपछि रत्नेचौर भाइरल भएको हो ।
त्यसपछि सो ठाउँमा रमाउन आउनेहरुको भिड लाग्ने गरेकोमा आज शनिबार पनि टिकटक बनाउने, दृश्य लिने र फोटो खिच्नेहरुको बाख्लो उपस्थिति देख्न सकिन्छ । बाहीरबाट आएका मानिसहरुका कारण सडक नै जाम हुन थालेपछि रत्नेचौरमा रहेको प्रहरीले स्थिति सहज बनाएको छ । तोरीबारीको बिचमा रहेको चिल्लो पक्की बाटो अनि त्यहाँबाट स्पष्ट देखिने धौलागिरी हिमालको दृश्य र त्यसको तस्विर लिने युवा युवतीका कारण सो स्थान भाइरल बनेको हो ।
रत्नेचौर आज जुन अवस्थामा रहेको छ, त्यसको स्वरुप नबदल्न र पर्यटकलाई आकर्षण गर्न जताततैबाट दबाव आइरहेको एक स्थानीयले बताए । सो तस्विर सार्वजनिक भएसँगै धेरैले जग्गा दलालबाट बचेको रत्नेचौर भनेर प्रशंसा गरेका थिए । सरकारको अनुमतिमा सो ठाउँलाई जग्गा दलालहरुले प्लटिङ गरेर त्यसको स्वरुप नै दललिने र ढकमक्क तोरी फुल्ने खेत र बारीहरुमा घरैघर बन्ने खतरा रहेका कारण यस्तो प्रतिकृया आएको हो ।
नेपालमा सुन्दर रत्नेचौर र रत्नेचौर जस्ता सुन्दर ठाउँहरु हजारौं होलान् तर तिनको प्रचारको अभावका कारण ती ठाउँहरु ओझेलमै छन् । रत्नेचौर र रत्नेचौर जस्ता सुन्दर ठाउँहरुलाई दलालको हातबाट जोगाउनका लागि स्थानीय सरकारले नै पहल लिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।
तस्विरः आशिष परियार‘झिल्के’को फेसबुकबाट ।