• मंसिर १३ २०८१, बिहीबार

आज नर्सिङ दिवस : नेपालमा कहिलेदेखि सुरु भयो नर्सिङ शिक्षा ?

माघ १५ २०७८, शनिबार

विश्वयुद्ध चलिरहेका बेला मान्छेहरु दिनहुँ हताहत र घाइते भइरहेका थिए । सानो टुकी बालेर फ्लोरेन्स नाइटिङ्गेल घाइतेहरुको सेवामा हरपल तत्पर थिइन् ।

सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका अर्थात् नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाइन्छ ।

नर्सिङको इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिप्रेक्षमा नर्सहरुको महत्व अनि विकास धेरै भइरहेको छ । नर्स बिनाको अस्पतालको परिकल्पना हामी गर्न सकिंदैन । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औंलामा गन्नसक्ने ब्यक्तिहरु मात्रै थिए ।

वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेसिङ लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वयमले गर्ने गर्दथे । नर्सिङको नेपाली इतिहास वि.सं २०१३ बाट शुरु भएको देखिन्छ जब केही गृहिणी लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिङ तालिम लिएका थिए ।

राणा शासनका क्रममा संभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङको शुरुवात भएको विश्वास गरिन्छ । राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ ।

त्यसपछि क्रमशः नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्ष गरेर आउने चलन बढेको पाइन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरुमा नर्सहरुको उपस्थिति बाक्लै देख्न सकिन्छ । शहर शहरमा नर्सिङ कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङप्रतिको आकर्षण बढ्दै गइरहेको छ ।

नर्सिङको अचम्मको कुरा के छ भने यो ब्यवसायमा पुरुषहरु नगन्य मात्रामा छन्, केही समयअघि केही नर्सिङ कलेजहरुले पुरुषहरुलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरु यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाईन्छ । सायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधुर उपस्थिति नै अत्युत्तम लागेको हुनसक्छ ।

विरामी हामीमध्ये जो कोही पनि पर्न सक्छौं । मनोवैज्ञानिक रुपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरुको उपस्थिति र सहयोगले छिटै निको हुने देखाउँदछ । हामी सबैलाई नर्सहरुबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ ।

शुरुशुरुमा नर्सिङलाई दुःख लाग्दो ब्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्नु पर्ने भन्ने रुपमा उति राम्रो रुपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरुको उपस्थिति अनि चित्रण बडो गज्जबरुपमा गरिएको छ । राष्ट्रिय नर्स दिवसको शुभकामना ।