• असार २३ २०८१, शनिबार

कर्मचारीको कार्यकाल र उत्तर कार्यकाल व्यवस्थापन

माघ १५ २०७८, शनिबार

देशमा शान्ति अमन चयन स्थापनादेखि लिएर नागरिक सेवा प्रवाह, ठुला ठुला आर्थिक विकास योजना कार्यक्रमहरु लागू गर्नु तथा अन्तराष्ट्रिय क्षेत्रमा देशको गौरब र ईज्जत बढाउनु सार्वजनिक प्रशासनको जिम्मेवारी हो ।

मानव सभ्यताको प्रारम्भिक कालमा सरकारको कार्य सिमित र सरल थियो । कार्य वातावरण पनि स्थिरप्रायः थियो । प्रशासकीय वातावरणमा आएको आमूल परिवर्तन, मिश्रित आर्थिक सामाजिक नीति, दिगो विकासको अहम सवाल, जलवायु परिवर्तनका चुनौती, विश्वव्यापीकरणले ल्याएका अवसर र जोखिमहरुले यसमा जटिलता ल्याएको छ ।

सूचना प्रविधिको विकास र प्रयोगले समाजमा बढाएको चेतना नेटवर्क र नागरिकको सूचनामा बढेको पहुँचले आधुनिक प्रशासनिक कार्य अत्यन्त जटिल, अन्तरजेलित र अनिश्चित बनेको छ भने कार्य वातावरण पनि गतिशील, परिवर्तनशील अप्रत्यासित बनेको छ ।

हरेक राष्ट्रको मौलिक उद्देश्य सुरक्षित, जनकल्याणकारी र समृद्ध राज्यको स्थापना गर्नु हो । जनकल्याणका उद्देश्यले सरकारले निर्णय गरेका नीति र कार्यक्रमहरु जतिसुकै राम्रा भए पनि सक्षम, उत्प्रेरित, इमान्दार, निष्पक्ष र उत्तरदायी जनशक्तिको अभावमा सबै निकम्मा साबित हुन पुग्छन् ।

सार्वजनिक प्रशासनमा रहेको जनशक्तिलाई समयानुकुल, आधुनिक र उत्प्रेरित नगरेसम्म र मेघावी कर्मचारीलाई सेवामा प्रवेश नगराएसम्म सरकारका उद्देश्यहरु हासिल हुन सक्दैनन् । प्रशासनिक संगठनमा जनशक्ति मात्र त्यस्तो शक्ति हो, जसले संगठनलाई जीवन्त राख्दछ ।

जनशक्ति भनेको सार्वजनिक प्रशासनको कार्यसम्पादन गर्र्न र त्यसको उत्तरदायित्व बहन गर्न रहेको मानवीय योग्यता, दक्षता र क्षमतायुक्त समूह हो । प्रशासनविद् एम.एम. मेहत्ता अनुसार संगठनात्मक जनशक्ति भन्नाले ज्ञान, सीप र दक्षताले निपुण मानव संसाधनलाई जनाउँछ ।

संगठनलाई गतिशील बनाउन संगठनात्मक मानव संशाधनको अहम् र महत्वपूर्ण भूमिका रहन्छ । संगठनात्मक जनशक्ति सार्वजनिक प्रशासनको मेरुदण्ड हो, संगठनात्मक पुँजी हो ।

जनशक्तिको शुन्यता वा शुन्य परिचालनमा सरकारको सेवाप्रवाहको निर्णय वा नीति र कार्र्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन हुन्छन् भन्ने सोच्नु दिवास्वप्न मात्र हुन्छ ।

यसकारण संगठनको सफलताको लागि सरकारको संगठनमा जनशक्तिको विकास र परिचालनलाई सरकार र उच्च व्यवस्थापन तहले उच्च प्रार्थमिकतामा राख्नु पर्दछ ।

देशको आर्थिक विकासका लागि जनवलको महत्व रहे झै संगठनको लागि पनि जनशक्तिको महत्व उच्च रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह र विकासको प्रशासनको लागि सार्वजनिक प्रशासनको उल्लेख्य भूमिका रहन्छ ।

संगठनको क्रियाकलापहरु सञ्चालनको लागि मानिस, सरसामान र प्रक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । मानव संसाधनको उपस्थितिले मात्र संगठनहरु गतिशील र क्रियाशील हुन्छन् ।

जनशक्तिको अभावमा बजेट, कार्यालय भवन वा उत्कृष्ट कार्यविधिको कुनै अर्थ रहदैन । संगठनको लागि कर्मचारीको भर्ना प्रक्रियादेखि कर्मचारीलाई संगठनको उद्देश्य प्राप्तिको लागि परिचालन गर्नु आजको सबैभन्दा जटिल कार्य बन्न पुगेकोछ ।

संगठनको वा सार्वजनिक प्रशासनको प्रभावकारीताको नाभी कर्मचारी हुन् । कर्मचारीको व्यवस्थापन सही ढङ्गले गर्न सकिएन भने संगठनले सफलता हासिल गर्न सक्दैन ।

कुनै पनि संगठनमा मानव संसाधन व्यवस्थापनको प्रथम उद्देश्य सक्षम कर्मचारीलाई सेवाप्रति आकर्षित गर्नु र टिकाइरहनु हो । यसका लागि पहिलो चरणसंगठनको जिम्मेवारी, कार्यक्षेत्र विस्तार, कर्मचारीको अवकाश तथा कर्मचारीले सेवा छोडने प्रवृत्तिको अधारमा कर्मचारीको आवश्यकता पहिचान गर्नु पर्दछ ।

कर्मचारीको आवश्यकता र पूर्तिबीच सन्तुलन हुन सकेन भने समस्या आउँछ । दोस्रो चरण कर्मचारी भर्ना हो । सरकारी सेवाको कर्मचारी भर्नालाई मेरिटमा आधारित र निष्पक्ष बनाउनको लागि संविधानमा नै लोकसेवा आयोगको व्यवस्था गरिएको हुन्छ ।

लोक सेवा आयोगले लिखित, मौखिक लगायत विभिन्न परीक्षाहरु सञ्चालन गरी मेरिटको आधारमा योग्य उम्मेदवारको छनौट गर्दछ । तेस्रो लोक सेवा आयोगबाट सिफारिस कर्मचारीको योग्यता, क्षमता र रुचीको आधारमा पदस्थापन गर्नु हो ।

नेपालको प्रशासनमा पदस्थापनमाथि अत्यधिक राजनीति हुने गर्दछ । चौथो चरण कर्मचारीलाई संगठन र संगठनको विषयमा परिचित (ओरियन्टेसन) गराउनु हो । ओरियन्टेशन नेपालको प्रशासनमा हुने गरेको छैन ।

पाँचौ चरणमा कर्मचारीको तालिम र क्षमता विकास गरिन्छ भने छैठौ चरणमा नेतृत्व विकासका लागि व्यवस्थापन विकास (म्यानेजमेन्ट डेभलपमेन्ट) प्रक्रिया पनि समावेश हुन्छ ।

तालिम कार्यक्रम बढुवाको लागि नम्बर कमाउने धन्धामा स्मिित छ । जिम्मेवारी र कर्तव्य बोध गराउने गरी तालिम कार्यक्रम सञ्चालन हने गरेका छैनन् । सातौं चरणमा कर्मचारीको अवकाश व्यवस्थापन गरिन्छ ।

आधुनिक समयमा कर्मचारी भर्ना पूर्व पनि कर्मचारीलाई सेवाका विषयमा जानकारी दिई आकर्षित गर्ने र कर्मचारीको अवकाशपछि उनीहरुको अनुभवको उपयोगको व्यवस्थापन गर्ने चलन आएको छ ।

आधुनिक संगठनको लागि मानव संसाधन व्यवस्थापन चुनौतिपूर्ण रहेकोछ । संगठनमा रहेका कर्मचारी सक्षम भएनन्, नैतिकवान भएनन्, नागरिकमैत्री वा ग्राहकमैत्री व्यवहार गर्ने भएनन्, आफनो जिम्मेवारी पुरा गर्ने र सो को उत्तरदायित्व लिने भएनन् वा संगठनप्रति ल्वायल (समर्पित) भएनन् भने संगठनको भौतिक स्रोतसाधन प्रयोगबाट संगठनको उद्देश्य हासिल नहुने मात्र होइन, संगठन बिघटनको बाटोमा जान्छ ।

मानव संसाधन व्यवस्थापनलाई प्रभावकारीरुपमा व्यवस्थापन गर्न देखिएका चुनौतीहरु पहिचान र समाधान आजको आवश्यकता हो । मेघावी कर्मचारीलाई आर्कषित गर्ने र टिकाइ राख्ने पहिलो चुनौतीको रुपमा रहेको छ ।

मेघावी युवाको ब्रेनड्रेन तितो सत्य बनेकोछ । संगठन वा सेवामा टयालेन्ट कर्मचारी आकर्षित हुने र टिकेर बसिरहने तत्वहरु मौद्रिक र अमौद्रिक गरी दुईवटा छन् । खासगरी युवा कर्मचारी मौद्रिक सुविधाप्रति बढी आकर्षित भएको देखिन्छ ।

मेघावी युवालाई प्रवेश गराएपछि टिकाइ राख्नको लागि अमौद्रिक तत्व अर्थात् वृत्तिविकासका अवसरहरुको महत्वपूर्ण भूमिका हुन्छ । युवाहरु सर्वप्रथम सार्वजनिक सेवामा पाउने तलव र निजी क्षेत्रमा पाउने तलव तुलना गर्दछन् । मौद्रिकरुपमा सुरक्षित हुन खोज्ने युवा प्रवतिको व्यवस्थापन नगर्दासम्म तत्काल सार्वजनिक सेवामा ट्यालेन्टहरु आर्कषित हुने अवस्था देखिदैन ।