काठमाडौं । पाकिस्तानमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको हत्या गरेका छन् । त्यहाँको पञ्जाव प्रान्तमा यो घटना भएको हो । उनले पब्जी खेलको प्रभावमा परिवारका सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।
राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यको शव फेला परेको जानकारी दिए । प्रहरीका अनुसार अघिल्लो हप्ता काहना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर, १७ र ११ वर्षीया छोरीको शव भेटिएको छ । प्रहरीका अनुसार नाहिदका १४ वर्षीय छोरा भने सुरक्षित थिए तर, उनी नै हत्यारा निस्किए ।
प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको लत लागेको थियो । उनले खेलकै प्रभावमा आमा र परिवारका अन्य सदस्यको हत्या गरेको स्वीकार गरेका छन् । लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरीले नाहिद मुबारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोट पुगेको हुनसक्ने बताएको छ । दिनभर पब्जी खेल्ने गरेकाले आमाले गाली गरेपछि आलमारीमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेका थिए ।
प्रहरीका अनुसार अर्को दिन बिहान उक्त बालक चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको हत्या भएको कुनै जानकारी नभएको बताएका थिए ।