• मंसिर २० २०८१, बिहीबार

सफा हुनुपर्‍यो नेताको नियत

माघ १५ २०७८, शनिबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोभिड महामारीको पिसिआर परीक्षण पोजिटिभ देखिएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएर सबैलाई चकित पारिदिएका छन् । उनले पारेको आश्चर्यचकित सकारात्मक भने होइन । त्यो समाज तथा जनस्वास्थ्यका लागि निकै हानिकारक र दण्डनीय हो ।

तर ठूला मानिसले आफै स्वास्थ्य प्रोटोकल मिचिरहेका छन् । समाजका ‘फिगर’ र अगुवा भनिएकाहरु नै यसो गर्न थालेपछि स्वास्थ्यको मापदण्ड पालना कसले गर्नुपर्ने हो, थाह भएन । तर नेपालका नेता र उनीसरहका ठूला मानिस भने कानुनभन्दा माथि छन् भन्ने यसले देखाइरहेको छ ।

पूर्वप्रधानमन्त्री ओली मात्र होइन, सबैले संविधान, ऐन र कानुनमाथि दाइँ लगाउने गरिरहेका छन् । अहिले पनि स्वास्थ्य मापदण्द केवल औपचारिक साबित हुन गएको छ । मानौ त्यो फगत निर्णय गरी जनतालाई देखाउनका लागि सार्वजनिक गरिने कुरा मात्र हो ।

जो नीति निर्माण गर्ने थलोमा बसेको हुन्छ, ऊ आफैले वा उसको निर्देशनमा निर्णय हुने गरेकाले उसका लागि यो बाध्यकारी छैन । अथवा, उसले यसबाट उन्मुक्ति पाएको हुन्छ । होला, ओली बाहिर सार्वजनिक भएकाले उनको आलोचना गरियो,  तर भित्र कोठाचोटा र बरण्डामा हरेक नेताहरुले भेटघाट र चियापान तथा गुटगत अड्डा जमाउन छाडेका छैनन् ।

सबैभन्दा बढी र सबैतिर महामारी फैलने र फैलाउने काम नेताहरुबाटै भएको छ । देशभरका नेता कार्यकर्ता भेट गर्ने र आआफ्ना गाउँमा फर्कने भएकाले देशभर कोभिडका नयाँ नयाँ भेरियन्ट यिनैबाट पनि सार्ने/सराउने काम हुने गरिरहेको छ । नेताले राम्रै होस् भनेर यस्ता कामहरुलाई निरन्तरता दिने गरेका होलान् पनि ।

तर अन्तर मन र नियत भने उनीहरुको सफा देखिएन । सबैभन्दा जानेको, बुझेको र दूरदृष्टि भएको मानिस नेता भएको हुनु पर्छ । उनीहरुले के काम गर्दा समाजलाई अप्ठेरो पर्छ, गलत सन्देश जान्छ र नकारात्मक काम गर्न सघाउ पुर्याउँछ भन्ने पनि थाह भएको हुनु पर्छ ।

यदि यसो हो भने नेताले सोच्ने कुरा लामो र पछिसम्मका लागि सकारात्मक हुने गरी सोच्नु पर्छ । यसका लागि नेताको नियत सफा हुनु पर्छ । ताकि यसले स्वयम्ले गर्न खोजेका गलत परिणाम दिने कामहरु नगर्न सचेत र सतर्क बनाओस् ।