• मंसिर ९ २०८१, आईतवार

चुनाव नसार्न राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई दबाब, निर्धारित समयमा गर्न आग्रह

माघ १५ २०७८, शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारबीच द्वन्द्व बढ्ने देखिएको छ ।

राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनको विषयमा कानुन पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झाएपछि गठबन्धनका नेताहरू चिढिएका छन् ।

राष्ट्रपतिको यो भूमिकालाई गम्भीरतापूर्वक लिएको एक मन्त्रीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रपतिको पत्रका विषयमा शुक्रबार बिहान सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

सत्ता गठबन्धनका तीनै शीर्ष नेताले राष्ट्रपति भण्डारीले आवश्यकताभन्दा बढी सक्रियता देखाएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए ।

‘पत्र नै लेखेर कुनै दबाब दिन खोजेको हो भने त्यो राम्रो भएन, प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन्, संविधान मिचेर दुई–दुई पटक विघटन गरेको विषयमा एक शब्द बोल्न नसक्ने राष्ट्रपति अहिले स्थानीय चुनावको निम्ति संविधानलाई सम्झिन पुग्नुभएको हो ?’

एकीकृत समाजवादी अध्यक्ष नेपालले कान्तिपुरसँग भने, ‘अझ संविधानमा के लेखेको छ भन्ने कुरा बिर्सेको देखिन्छ । कानुनमा के लेखेको छ, त्यसका आधारमा पार्टीहरूलाई आरोप लगाउन खोजेको मैले सुनिराखेको छु ।

त्यस्तो आरोप लगाउने काम उहाँले गरेको हो भने त्यसो नगर्नका लागि आग्रह गर्न चाहन्छु । सीमाभित्र उहाँ बस्नुपर्‍यो ।’

यस विषयमा गठबन्धनको शनिबार बस्ने बैठकमा औपचारिक रूपमा छलफल गरिने र स्थानीय तह निर्वाचनका बारेमा भइरहेको अन्योलप्रति ठोस धारणा बनाउने योजनासमेत रहेको बालुवाटार स्रोतले बतायो । ‘राष्ट्रपति कार्यालयबाट पत्र आएको रहेछ, यसबारे छलफल गर्न र आवश्यक निर्णय गर्न शनिबार बैठक बस्दै छ,’ गठबन्धनका एक शीर्ष नेताले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।