• बैशाख १८ २०८२, बिहीबार

यातायात कार्यालयका फाइल ‘डिजिलाइजेशन’ गर्न मन्त्रीको निर्देशन

माघ १४ २०७८, शुक्रबार

काठमाडौँ। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका हस्तलिखित फाइलहरुलाई ‘डिजिलाइजेशन’ गर्न निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।

उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए। मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरू अनलाइनमा परिणत गर्नुपर्ने बताए।

‘यो फाइल जुनरुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ। यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला?’ मन्त्री दाहालले भने‚ ‘एकान्तकुनामा हिजो फाइलहरू हेर्‍यौं, बेहाल छ। त्यो भएर यसलाई डिजिलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस्। हामी त्यो विधि बनाउँदैछौँ।’

उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने औंलाए। उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताए।

‘क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ‚’ मन्त्री दाहालले भने‚ ‘एक दुई जना बदमासले गर्दा अन्य इमान्दार कर्मचारीहरूले दोष पाइरहेका छन्।’

मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरूका कारण इमान्दार कर्मचारीहरूले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए। उनले कार्यालयमा आउने सेवाग्राहीहरूलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए।