नेपालमा एकले अर्कालाई सराप्ने राजनीतिक प्रवृत्ति बनिसकेको छ । सरापेर अर्काको अनुहारमा मैलो छ्याप्ने र आफू सफा देखिने यो राजनीतिक दुस्साहस मात्र हो । तर पनि यस्तो कसरत चलिरहेकै छ ।
दलका नेताहरुको टाउकाभित्र घृणा र अपमानले प्रतिस्पर्धा गर्दैछन् । अरुलाई पुड्को देखाएर आफु अग्लो भएको महसुस गर्ने प्रवृत्ति झाँगिएकै छ । यो प्रवृति अत्यन्त हानिकारक छ भन्ने कसैलाई थाह नभए झैं लागिरहेको छ ।
यो सत्य तथ्य राजनीतिक दलका नेता तथा कार्यकर्ता सुन्न र बुझ्न चाहदैनन् । परनिन्दा र गालीगलोजका श्रृंखला राणाशासनदेखि चल्दै आएका भए पनि अहिले उचाइको शिखर चुमिरहेका छन् ।
माओवादी अध्यक्ष्य प्रचण्डले ‘कपी ओली विचारमा स्खलित भइसकेको कम्युनिष्ट पार्टीको विधि, विधान र पद्धतिप्रति सम्पूर्ण रुपमा मोहभङ्ग भैसकेको प्रवृत्ति हुनुहुँदो रहेछ’ भन्नुभएको छ ।
त्यसको प्रतिउत्तरमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डलाई ‘प्रतिस्पर्धा गर्न नमान्ने, डराउने र प्रतिस्पर्धामा हार बेहोरेपछि मतपत्र च्यात्ने इतिहासबाट आएको’ भनी प्रतिवाद गर्नु भएको छ ।
समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीलाई ‘अरु सबैको खिसिटिउरी गर्ने गलत प्रवृत्ति, अलोकतान्त्रिक चरित्र र कम्युनिष्ट आचरण नभएको भन्नुभएको छ ।
त्यसको प्रतिउत्तरमा ओलीले ‘म माधव नेपालको विषयमा केही टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो’ भन्नु भएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी ओलीलाई ‘हरियो घाँसभित्र छिपेको हरियो सर्पजस्तो’ भनी कटाक्ष गर्नु भएको छ ।
प्रतिनिधिमुलक पात्रका यी भनाइ श्रृंखलाबद्धरुपमा जारी छन् । नेकपा विभाजनपछि नेताहरुमा राजनीतिक विषयमा कम र व्यक्तिगत आक्षेपमा ज्यादा समय खर्चिएका छन् । नेताहरुमा निराशा हाबी भएर यसो हुन पुगेको भन्ने मनोविदहरुको आँकलन रहेको छ ।
आफूमा विकास भएका निराशा लुकाउन र कार्यकर्तालाई केही उत्साहित पारुँ भन्ने आशयबाट एक अर्कालाई यस्तो आरोप प्रत्यारोप लगाइरहने काम भएको देखिएको छ । तर नेतृत्व तहबाट यस्ता अराजनीतिक र अमानवीय टिप्पणी आउँदा कार्यकर्ताले उल्टै हौस्याउने गरिरहेको पाइन्छ ।
यो राजनीतिक संस्कारले भोलिको नयाँ पुस्तालाई कता लैजाला ? राजनीति झनै अपराधिक र घृणित हुने सोझै अनुमान गर्न सकिन्छ । यी अभिव्यक्ति र शैलीले राजनीतिप्रति नै वितृष्णा जगाउनुका साथै सामाजिक मूल्य मान्यतालाई नै भत्काइदिने खतरा पैदा हुन पुगेका छन् ।
बोलेका कुराको परिणामको हिसाबकिताब केही गर्नु नपर्ने भएपछि मानिसमा स्वेच्छाचारिता बढ्ने स्वतः देखिन्छ । राजनीति भनेको राज्यको मूल नीति हो वा नीतिहरुको मुहान हो ।
मुहान सफा भएमा मात्र नदीमा सफा पानी बग्ने हो । राजनीतिमा इमान्दारिता भएन भने यो संभव पनि छैन । संसदीय मर्यादा र दलीय सहिष्णुता आवशयक छ नेताहरुको सोच र अभिव्यक्तिमा ।
त्यसो त यस्ता गलत प्रचलन विदेशमा पनि छन् । सन् १८०० को अमेरिकी राष्ट्रपतीय चुनावमा थोमस जेफरसन्ले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलाई ‘नपुङ्सक’ भनेका थिए । यसको जवाफमा एडम्सले जेफरसनलाई ‘थाह नभएको नश्लको सन्तान’ भनेका थिए ।
सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले विलक्लिन्टनको चरित्रमाथि धावा बोलेकी थिइन् । त्यसै गरेर सन २०१६ मा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई यौनलिप्सा र इमेलप्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरेका थिए ।
यी सबै आरोप÷प्रत्यारोप चुनावी मैदानमा विपक्षीलाई परास्त गर्ने अस्त्रका रुपमा प्रयोग भएका थिए । तर यी अमेरिकी जनताका लागि पाच्य कुरा भने थिएनन् । बरु आवेग, कुण्ठा र प्रतिशोधका अभिव्यक्ति थिए ।
यस्तो उदाहरण भारतमा पनि पाइनछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा लोकसभाको चुनावमा ‘खुनी पञ्जा’ भन्दै कांग्रेस आईको चुनाव चिन्हमाथि कटाक्ष गरेका थिए । प्रतिउत्तरमा कांग्रेस नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई चोर र लुटेराको गिरोह भन्नुका साथै इण्डिया मुजाहिद्दिनको संज्ञा समेत दिएका थिए ।
मोदीलाई चुनावी मैदानमा ‘लो प्रोफाइल’ देखाउन चियापसले तथा साम्प्रदायिक भनेर टिप्पणि गरेका थिए । बेलायतमा पनि बेलाबखत राजनीतिक सभा समारोहमा सवाल जवाफका क्रममा अश्लिल गालिगलोज र अपशब्द प्रयोग गरिएको पाइन्छ ।
अब उप्रान्त नेपालका राजनीतिक दलहरुका बीचमा सवालजवाफ गर्नुपर्दा सन्तुलित बन्नै पर्छ । राष्ट्रिय समझदारी, सहमति र सहकार्यले मात्र राष्ट्र निर्माण हुन सक्छ । त्यसैले संयमित सोचको विकास गरौं । आफ्ना सिद्धान्त, नीति, कार्यक्रम नमिल्नेहरु बीच राष्ट्रहित विपरीत गठबन्धन नगरौ ।
दलीय अनुशासन हीनतालाई बढावा दिँदै जाऔं । गालीगलौजको यो क्रम रोकिहाल्नु जरुरी छ । नागरिकको भूमिका पनि चुनावमा स्वस्तिक छाप लगाउने भन्दा माथि उठ्नु पर्छ । देश नेताले मात्र होइन, नागरिकले पनि देश बनाउने हो भन्ने हेक्का राख्नुपर्छ ।
नेताहरुको चेतनाको प्रभाव समाजमा समेत पर्ने भएकाले आफु सँगसँगै कार्यकर्तालाई पनि सुधार्दै राजनीतिप्रति फैलिरहेको वितृष्णा कम गराउन र समाजलाई कलुषित हुनबाट जोगाउन नेताहरुले उच्च भूमिका निर्वाह गर्न सक्नु पर्दछ ।