काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुने बताएका छन् । सामाजिक सञ्जालमा शुक्रबार ट्वीट गर्दै थापाले यस्तो बताएका हुन्। उनले पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने गरी कानुन बनेको भन्दै त्यसलाई कुनै पनि बहानामा उलंघन गर्नु नहुनेमा जोड दिएका छन्।
नेता थापाले संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको भन्दै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन नहुने परिकल्पना गरेको प्रष्ट पारेका छन् ।
‘संविधानमा तीन तहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन हुने परिकल्पना संविधानमा छैन’, थापाले लेखेका छन्, ‘यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ।’