• मंसिर ८ २०८१, शनिबार

नेपाल विश्व सम्बन्ध परिषद् के हो र के गर्दैछ ?

माघ १३ २०७८, बिहीबार

नेपाल विश्व सम्बन्ध परिषद् राष्ट्रहितको पक्षमा जनस्तरमा द्धिपक्षीय सम्बन्ध विस्तार गर्न हेतु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला स्थिर रहनुपर्ने अवधारणा सहित वि.सं. २००४ सालमा स्थापना भएको गैह्रराजनैतिक, गैह्रनाफामूलक संस्था हो । परिषद्ले आफ्नो स्थापनाकालको ७४ वर्ष पूरा गरिसकेको छ । परिषद् ४० वर्ष भन्दा अगाडिदेखि नेपाल सरकारले पुल्चोकमा उपलब्ध गराएको जग्गामा आफ्नै भवन निर्माण गरी सञ्चालनमा रहेको छ । परिषद्लाई उचाइमा पुर्याउन संस्थागत उद्देश्यमा रहेर, नेपालको छवि विश्वमा चिनाउन, राज्यको हितमा हुने गरी, परिषद्का कार्यसमितिले वास्तविक चाहना र आकांक्षामा आधारित भई, कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेको छ । परिषद्ले आफ्नो निर्दिष्ट उद्देश्य प्राप्तिको लागि सीमित स्रोत र साधनका बावजुत पनि आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । एक्लो बृहस्पती जस्तै हजारौंको भीडमा फरक तरिकाले अगाडि बढिरहेको छ ।

सीमित स्रोत र साधनको कारण वर्तमान परिस्थितिमा परिषद्ले व्यापक खालका कार्यक्रमहरुको आयोजना गर्न सकिरहेको छैन । यसको प्रमुख कारण हो परिषद्ले कुनै प्रकारका शर्तसहितका वैदेशिक अनुदान स्वीकार नगर्नु । परिषद्को आम्दानीको प्रमुख स्रोत नेपाल सरकारबाट प्राप्त सहयोग र सदस्यता शुल्क नै हो । परिषद्ले राज्य प्रथम नीति अंगिकार गर्ने गरेको छ । जुन देशका लागि अपरिहार्य र वाञ्छनीय हुनुको साथसाथै विवेकी पनि छ । परिषद्ले न्यायपूर्ण तरिकाबाट जनता जनता बीचको सम्बन्ध विस्तारमा सरकारलाई पुलको जस्तै सहयोग पुगोस् भन्ने हेतु भ्रमण आदान प्रदानका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।

परिषद्ले धेरै मोर्चाहरुमा एकलै अग्रपंक्तिको परिकलपना सहित काम गरिरहेको छ । परिषद्ले मानव अधिकार, वाणिज्य, शिक्षा, स्वास्थ्य, सञ्चार, अनुसन्धान, विश्लेषण तथा आधुनिकीकरण लगायतको क्षेत्रमा अन्तरक्रिया गर्दै आएको छ । परिषद् तय गर्ने वार्षिक योजना तथा कार्यक्रमको मुलभूत उद्देश्य भनेको नै आर्थिक, सामाजिक, द्विपक्षीय र बहुपक्षीय विकासको लागि व्यावहारिक रूपरेखा प्रस्तुत गरी, आपसी छलफल, अध्ययन, अनुशन्धान, स्थलगत भ्रमणबाट जनता जनता बीचका तत्वीक सम्बन्धहरू अझ मजवुत गर्न सकियोस् भन्ने रहेको छ । परिषद्को कार्यक्रमको केन्द्रीय उद्देश्य द्विपक्षीय र बहुपक्षीय तहमा वार्ता, अन्तक्र्रिया, सेमिनार कार्यक्रम हुन जसले कुटनीतिक सम्बन्ध सुदृढ पार्न सरकारलाई सहयोग पुग्न सकोस् ।

परिषद्ले आफ्नो स्थापना कालदेखि विभिन्न क्षेत्रमा गर्दै आएका कार्यक्रमहरु समग्रमा देशको लागि अत्यन्त महत्वपूर्ण रहँदै आएकोछ । परिषद्ले सम्भव भएसम्म राजनीतिक विवाद भन्दा बाहिर रहेर आफ्ना कार्यक्रम सम्पादन गर्दै आएको छ । यो अवश्य पनि एउटा विस्तार भईरहेको प्रजातन्त्रको स्वस्थ कार्यको अंश मान्न सकिन्छ । परिषद्को कार्यविधि र आलोचनाको बारेमा मतभेद तथा विचार विमर्श त भएका छन् तर राजनीतिक विग्रहबाट टुटफुट भइरहेको जनमानसमा अटुट रुपमा रहनु परिषद्को लागि गौरवको विषय हो । परिषद्का आधारभूत उद्देश्यहरू संस्थागत र सरकारको सहकार्यमा गर्नु पर्दछ भन्ने मान्यता रहेको छ । यस्ता संयुक्त प्रयासका साझा लक्ष्यहरू तथा गतिविधिले देशलाई एकता र विकासको दिशामा अगाडि बढ्न सहयोग पुग्न सक्छ । तर, राजनीतिक परिवर्तनसँगै सरकारले परिषद्लाई दिने महत्वमा केही कमि आएको छ । समयको परिवर्तनसँगै परिषद् प्रति हेर्ने सरकारको फरक दृष्टिकोणको र न्यून मात्रमा गर्ने आर्थिक सहयोगका बावजुत पनि परिषद्ले विचलित नभई राज्यहीतमा काम गरिरहेको छ । आफ्नो सानो प्रयासबाट पनि देशको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिरहेको छ ।

नयाँ पुस्ताका लागि नेपाल विश्व सम्बन्ध गुमनाम हुनसक्छ । शासन परिवर्तन भएपनि नभएपनि, हामी नेपालको सबैभन्दा पृथक संस्थामध्ये एक थियौं र छौं । जुन आधुनिक प्रभावका साथ प्रभावकारी सम्पर्कबाट टाढा छ । यो सम्भावित देखिन्छ कि अघिल्लो शताब्दीको दौरान र परिवर्तन पछिको दौरानमा जुनसुकै मोर्चामा पनि परिषद् अग्रपंक्तिमा रहेर काम गरिरहेको छ । तर पनि नेपाल सरकारले नेपाल विश्व सम्बन्ध परिषद्लाई प्राथमिकता र पर्याप्त आर्थिक सहयोग तथा समर्थन गर्न सकिरहेको छैन । जुनसुकै व्यवस्था आएपनि सरकार चलाउनेहरुले आफू अनुकूल विभिन्न प्रकारका विदेशनीति अध्ययन अनुसन्धान गर्ने संस्थाहरु स्थापना गरिरहेका उदाहरणहरु हामी माझ ताजै छन् । सन् १९९० पछि त्यस्ता केही अनुसन्धानमूलक संस्थानहरु स्थापना भइसकेका छन् ।

ती संस्थालाई सरकारले प्रयाप्त बजेटको व्यवस्था गरेको छ र राजनीतिक भर्ति केन्द्रको रुपमा विस्तार गर्दै छ । नेपाल विश्व सम्बन्ध परिषद्मा आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक, कानून, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका करीब ४०० को संख्यामा रहेका विद्धान सदस्यहरुको अनुभवको लागि निराश हुनुको विकल्प देखिंदैन । परिषद्लाई भन्दा पनि सरकारले आफू अनूकूल ढ्वाङ पिट्नेहरुलाई मात्र समर्थन गरिहरेको छ । सरकारले परिषद्प्रति गर्ने वेवास्ताको कारण परिषद्को आर्थिक स्तर शताब्दीयौंदेखि अस्थिर रहिरह्यो । राज्यसत्ताको संयन्त्र त परिवर्तन भयो तर परिषद्ले नयाँ युगको अनुभूत गर्न सकेन ।

प्रगति अवश्य ढिलो छ, तथापि, परिषद्ले स्थापनाको प्रारम्भिक वर्षहरूमा आफ्नो ध्यान मुख्यतः संस्थाको भविष्यको प्रगतिको ठोस आधारशिलता उजागर गर्नमा समर्पित गरेको थियो । जुन अहिलेपनि गरिरहेको छ । विगतका वर्षहरुमा हामीले नेपालमा परिवर्तन भएको देख्यौं । नयाँ राजनीतिक आगमनले प्रजातान्त्रिक र कल्याणकारी उद्देश्यहरूको लागि वचनबद्ध भएको देख्यौं । बाहिरी संसारसँग कुटनीतिक सम्पर्कहरू स्थापना गरेको देख्यौं । सरकारले बढ्दो परिमाणको वैदेशिक सहायता कार्यक्रमहरूको उद्घाटन गरेर राष्ट्र समृद्घ बनाउन भएका प्रयासहरु देख्यौं । तर, देखेनौं त केवल विश्व सम्बन्ध परिषद्लाई नयाँ उचाइमा पुर्याउन गरेको सहयोग । आज सम्म परिषद्ले राज्यकोलागि दिएको बलिदान र योगदानको उचित कदर गर्न सकिरहेको छैन ।

परिषद्ले आयोजना गरेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सरकारमा रहेका महत्वपूर्ण सरोकारवाला पात्रहरुलाई यथार्थता वर्णन गर्दा दिइएका वचन वद्धताको पालना हुन नसक्नु विडम्बनाको विषय हो । यस्ता प्रकारका असहयोगहरु परिषद्को इतिहासमा कालो धब्बा भएर रहिरने छन् । राष्ट्र र जनताको हितमा काम गर्न आजसम्म जीवित संस्थाप्रति हेर्ने सरकारको चस्माको परिवर्तन नभएसम्म परिषद्को विकास तथा सुदृढता सम्भव छैन । धेरै कारक तत्वहरुको बावजुत पनि परिषद्लाई कसरी द्रुत गतिमा अगाडि बढाउन सकिन्छ भन्ने हेतु परिषद्ले सन् २०२२ मा आफ्नो हिरक महोत्सव आयोजना गर्दै छ ।

विजय शमशेर राणा, हृषिकेश शाह, भेषबहादुर थापा, लोकराज बराल, मोहन लोहनी, सूर्यलाल अमात्य, पन्नाकाजी अमात्य, विरेन्द्र बहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर श्रेष्ठ लगायतका राष्ट्रिय व्यक्तित्वले नेतृत्व गरेको परिषद्को बागडोर अहिले हेमन्त खरेलको काँधमा आइपुगेको छ । खरेललाई परिषद्को अस्थित्व जोगाइराख्न परिषद्का सदस्यहरुले आगामि तीन वर्षको थप अर्को कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेका छन् । आशा गरौं परिषद्ले आगामि दिनहरुमा अझ प्रभावकारी कार्यहरु गर्न सफल होस् ।