• असार १३ २०८१, बुधबार

हाम्रो शरीर किन चिलाउँछ ? यस्तो कारण !

माघ १३ २०७८, बिहीबार

हाम्रो चिलाउनुको कारण के हो भन्नेबारेमा वैज्ञानिकहरुले अहिलेसम्म खासै कुनै सन्तोषजनक तथ्य पत्ता लगाउन सकेका छैनन् । चिलाउने क्रियामा छाला, स्पाइनल कर्ड र मस्तिष्कबीच समन्वय हुन्छ । र, हाम्रो शरीर जुनसुकै बेलामा चिलाउन सक्छ ।

कहिलेकाहीँ ढाडमा चिलाउँदा हातले कन्याउन नभ्याएर निकै अफ्ठ्यारो हुने अनुभव त सायद हामी सबैले गरेका छौं र कहिलेकाहीँ कन्याउने र चिलाउने प्रकृया यतिसम्म हुन्छ कि छालामा घाउसमेत हुन्छ । पहिला यो विश्वास गरिन्थ्यो पीडाका लागि जिम्मेवार स्नायुहरुले राम्रोसँग काम नर्गदा हामी चिलाएको अनुभव गर्छौं ।

पीडाजस्तै चिलाउने अनुभूति पनि घटना घटेको केही समयपछि मात्रै हुन्छ । तर, पीडा तथा चिलाउने अनुभूति हुँदा हामी भिन्नाभिन्नै प्रतिकृया देखाउछौँ । पीडाको समयमा पीडाको कारणबाट छिटोभन्दा छिटो छुट्कारा पाउन खोज्छौं भने चिलाउँदाको हाम्रो प्रतिकृया भने कन्याउने हुन्छ ।

यद्यपि, कन्याउने प्रतिकृया जनाउन पनि मस्तिष्कको संलग्नता नहुन सक्छ । सन् १९९७ मा केही अनुसन्धानकर्ताले फराकिलो टेन्टाकलहरु भएका ससाना स्नायुहरू पत्ता लगाएका थिए । जसले चिलाउँदाको समयमा मात्र प्रतिक्रिया जनाउँछन् । केही समय अगाडि मात्रै पनि वैज्ञानिकहरुले चिलाएको ठाउँमा कन्याउँदा मस्तिष्कका कुनकुन भागहरू क्रियाशील हुन्छन् भन्ने कुराको अनुसन्धान गरेका थिए ।

अनुसन्धानबाट के पत्ता लाग्यो भने कन्याउँदाको समयमा मस्तिष्कको कुनै एकभाग मात्र क्रियाशील हुने नभई स्पर्श गर्दा, कुनै अङ्ग चलाउले निर्णय गर्दा, र पीडा तथा खुसीको अनुभूति हुँदा क्रियाशील हुन्छन् । त्यसैले चिलाउनु भनेको स्पर्श, क्रिया र उद्वेगको विशाल सम्मिश्रण हो तर चिलाउँदा हामी किन कन्याउँछौं त ? यो प्रश्नको उत्तर त्यति सहज छैन ।

वैज्ञानिकहरूका अनुसार चिलाएको ठाउँमा कन्याउँदा अनुभव हुने हल्का पीडाको कारण मस्तिष्कको ध्यान चिलाउने अनुभवबाट पीडामा केन्द्रित हुन्छ, जसको कारण चिलाउने निको हुन्छ । तर यो कुरा पूर्णरूपमा पुष्टि भएको भने छैन र कहिलेकाहीँ कन्याउँदा अनावश्यक पदार्थहरूको उत्पादन हुने हुँदा अझ बढी चिलाउने पनि हुनसक्छ ।

चिलाउनुको कारण दाद र जन्डिसजस्ता थुप्रै रोगहरू हुनसक्छन् । तर, कुनै रोगबिना अथवा कुनै ठोस कारणबिना नै चिलाउने चाहिँ किन हुन्छ त ? वास्तवमा, अधिकांश चिलाउने अनुभव मानसिक मात्रै हुन्छ तपाईंले यो लेख पढ्दा पढ्दै कतिचोटी कन्याइसक्नु भयो ? यदि तपाईं बुढो वा विरामी हुनुहुन्छ भने यो केवल तपाईंको मस्तिष्कमा मात्र भएको हुनसक्छ । त्यसैले अर्कोचोटी चिलाउँदा कतिबेरसम्म नकन्याई बस्न सक्नुहुन्छ, जाँच्ने कि ?