काठमाडौँ। मौसम जाडोको छ, अहिले । जाडो मौसम सुरु हुने बित्तिकै रुखाखोकी लगायतका समस्याहरु आएर जनजीवनलाई अप्ठेरो बनाउने गर्छन् । जाडो मौसममा नै मानिसहरुलाई बढी रुघा र खोकी लागेको पनि हामी पाउँछौं । किन बढि नै लाग्छ त जाडो मौसममा नै मानिसहरुलाई रुघाखोकी ? आउनुहोस् जान्ने प्रयास गरौँ ।
मानिसलाई रुघा लगाउने एउटा भाइरस रहेको छ, जसको नाम हो ‘राइनो’ भाइरस । हो, यही राइनो भाइरसको कारण हामीलाई रुघाखोकी लाग्ने गर्छ भनेर स्वास्थ्य वैज्ञानिकहरुले बताउँदै आएका छन् । जाडो मौसममा हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता गर्मी मौसममा भन्दा बढी हुन्छ । त्यसकारण समान मात्रामा रुखा लगाउने ‘राइनो’ नाम गरेको भाइरस शरीरभित्र पसेको खण्डमा जाडोमा भन्दा गर्मीमा मानिसको शरीर रुघाको लागि बढी संवेदनशील हुने गर्छ । वैज्ञानिकहरुका अनुसार राइनो भाइरसहरु जाडोमा भन्दा वसन्त र शरद ऋतुमा बढी सक्रिय हुने गर्छन् ।
तर, हामीलाई त जाडो मौसममा नै बढी रुघा लाग्छ । किनकि, जाडो मौसममा हामीलाई बढी रुघा लाग्नुको कारण हामी जाडो मौसममा धेरै मानिसको सम्पर्कमा आउँछौं । यही नै रुघाखोकी बढ्नुको प्रमुख कारण रहने गरेको छ । जाडो अर्थात् चिसो मौसममा हामी आफ्नो शरीरलाई न्यानो राख्नका लागि सकेसम्म बढी मानिसको सम्पर्कमा रहन्छौं ।
एउटै कोठामा झ्यालढोकाहरु बन्द गरेर धेरै मानिस एकसाथ बसेर गफ गर्ने, एकै ठाउँमा झुम्मिएर आगो ताप्ने, एउटै ओढ्ने ओढेर एउटै ओछ्यानमा सुत्ने गर्दछौं । घर बाहिरको यात्रामा पनि जाडोबाट बच्नका लागि भनेर सवारी साधनका झ्यालढोकाहरु बन्द गरेर राख्ने गर्दछौं । यिनै बन्द र सामूहिक क्रियाकलापले गर्दा हामी बढीभन्दा बढी मानिसको सम्पर्क रहेका हुन्छौं ।
यस्तो बेलामा कसै न कसैलाई पहिल्यै रुघा लागिसकेको रहेछ भने रुघाको भाइरस अरु मानिसमा सर्ने सम्भावना बढी रहेको हुन्छ । तर गर्मी मौसममा भने हामी सकेसम्म अरुको सम्पर्कबाट टाढा रहन्छौं । त्यसैले हामीलाई गर्मी मौसमभन्दा बढी जाडो मौसममा रुघाखोकी लाग्ने गर्दछ।