सरोगेसीबारे लोकप्रिय लेखिका एवं अधिकारकर्मी कार्यकर्ता तसलिमा नसरीनले सामाजिक सञ्जालमा सरोगेसीबाट जन्मिएका बच्चालाई रेडिमेड बेबी भनिन् ।
नसरीनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सरोगेसीबारे मेरा ट्विट सरोगेसीप्रति मेरो फरक धारणाका बारेमा छन्। यसको प्रियंका चोपडा र निक जोनससँग कुनै सम्बन्ध छैन। म यो जोडीलाई माया गर्छु। सरोगेसीबारे मेरो धारणापछि मानिसले मलाई गाली गरिरहेका छन् । उनीहरू भाडाको कोखमार्फत बच्चा जन्माउनु ठीक होइन भन्ने मेरो धारणालाई ढुंगे युगको विचार हो भनिरहेका छन्। तर म घरबारविहीन बालबालिकालाई धर्मपुत्र, धर्मपुत्री बनाएर राख्न तर गरिब महिलाको शारीरिक शोषण नगर्न सुझाव दिन्छु।’
उनले अगाडि लेखेकी छन्, ‘गरिब महिलाका कारण मात्रै सरोगेसी सम्भव छ। धनीहरू आफ्नो स्वार्थका लागि समाजमा गरिबीको अस्तित्व चाहन्छन्। यदि तपाईंलाई बच्चा पालनपोषण गर्ने यत्ति धेरै मन छ भने सडक बालबालिकालाई ग्रहण गर्नुहोस्।’
तसलिमा नसरिनले अर्को पोस्टमा लेखेकी छिन्, ‘जुन महिलाले सरोगेसीमार्फत रेडिमेड सन्तान पाउँछन्, उनीहरूले आमा बनेको अनुभूति कसरी गर्न सक्छन्? उनीहरूले जन्म दिने आमाले जस्तै महसुस गर्न सक्छन्?’
अर्को पोस्टमा उनले लेखेकी छिन्, ‘म जबसम्म धनी महिला सरोगेट आमा बन्दैनन्, तबसम्म सरोगेसी स्वीकार गर्दिनँ। म बुर्का पनि लाउदिनँ जबसम्म पुरुषले यसलाई स्वीकार गर्दैनन्। त्यसैगरी म वेश्यावृत्ति स्वीकार गर्दिनँ। सरोगेसी, बुर्का र वेश्यावृत्ति, सबै महिला र गरिबको शोषण मात्र हो।’