काठमाडौं । फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुगेको छ ।
यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण भएको बताए ।
“आज फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक हो” राजदूत डेप्रेजले भने, “यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।”