• बैशाख १७ २०८२, बुधबार

संविधान अनुसार नै स्थानीय तहको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

माघ १२ २०७८, बुधबार

काठमाडौँ। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको मर्म अनुसार नै स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

बुधबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक भएपछि पत्रकारले सोधेका प्रश्नको जवाफ दिनेक्रमममा मन्त्रालयमा उनले यस्तो बताएका हुन् । लोकतन्त्रको मर्म, संविधानको भावना अनुसार मुलुकलाई अगाडि बढाउने विषयमा सरकार जानकार रहेकोसमेत उनले बताए।

संविधान र कानुनमा केही अन्तरद्वन्द्व देखिए पनि सरकार संविधान र कानुन अनुसार नै अगाडि बढ्ने उनको भनाइ छ। जनताको सार्वभौम अधिकारलाई अक्षुण राख्दै जनताको भावना अनुसार निर्वाचन हुने मन्त्री कार्कीले प्रष्ट पारे।

‘सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु कि संविधानले गरेको व्यवस्था अनुसार नै स्थानीय सरकारको र प्रतिनिधिसभाको निर्वाचन गर्नेछौँ’, मन्त्री कार्कीले भने, ‘जनताको सार्वभौम अधिकारलाई अक्षुण राख्दै जनताको भावना अनुसार निर्वाचन सम्पन्न हुन्छ।’

मन्त्री कार्कीले सरकारले लोकतन्त्रका मर्म, संविधानको भावना अनुसार मुलुकलाई अगाडि बढाउने उल्लेख गरे । सिंहदरबारले प्रदान गर्ने सेवा र सुविधा स्थानीय तहमा पुर्याउने परिकल्पना संविधानले गरेको भन्दै मन्त्री कार्कीले त्यसलाई प्रभावकारी बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

संविधान र कानुनमा केही अन्तरद्वन्द्व देखिए पनि संविधान अनुसार कानुनलाई मिलाएर अगाडि बढ्ने उनको भनाइ रहेको छ।

मन्त्री कार्कीले संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभएर प्रमुख प्रतिपक्षी दलकोसमेत रहेको बताए । साथै, उनले आवधिक निर्वाचनको विषयमा सरकार विज्ञ रहेकोसमेत प्रष्ट पारेका छन्।