काठमाडौं । भारतको ७३ औं गणतन्त्र दिवसका अवसरमा सैनिक जनरल विपिन रावतलाई पद्म विभूषण प्रदान गरिएको छ । गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा निधन भएका जनरल विपिन रावतलाई मरनोपरान्त उक्त विभूषण प्रदान गरिएको हो ।
पद्म विभूषणलाई भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मानको रुपमा लिइन्छ । यस वर्षको यो उच्च सम्मान प्राप्त गर्नेहरुमा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिका प्रभा यात्रे रहेका छन् ।
जनरल रावतजस्तै सिंह र खेमकालाई पनि मरणोपरान्त यी विभूषणबाट सम्मानित गरिएको हो । मात्र यात्रे आफैले यो सम्मान आफ्नो हातले थाप्ने अवसर पाएकी छिन् ।
।
पुनावाला र एल्ला दम्पत्तिलाई पद्मभूषण :
कोरोना भाइरसविरुद्ध खोप सिर्जना गर्ने सीरम इन्स्टीच्युटका साइरस पुनावाला र भारत बायोटेकका संस्थापक अध्यक्ष कृष्णा एल्ला र उनकी पत्नी सुचिता एल्ला गरी १७ जनालाई पद्म भूषण प्रदान गरिएको छ ।
पद्म भूषण पाउनेमा राजनीतिकर्मी पनि :
राजनीतिकर्मी पनि यस वर्षको पद्म भूषण पाउने व्यक्तित्वमा परेका छन् । कांग्रेस नेता गुलाम नबी आजाद, पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य यो कोटीमा रहेका छन् । कर्मचारीमा पूर्वगृहसचिव राजीव महर्षिले यो सम्मान हात पारेका छन् ।
उद्योगी तथा वैज्ञानिक पनि पद्म भूषणको लहरमा :
उद्योगी टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरन, गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका अध्यक्ष सत्या नगेला र भारतीय मूलका मेक्सिकोका वैज्ञानिक सन्जय राजाराम (मरणोपरान्त) लाई पनि पद्म भूषण सम्मान प्रदान गरिएको छ ।
रङ्गकर्मीको हातमा पनि पद्म भूषण :
यसैगरी अभिनेता भिक्टर बनर्जी, पन्जाबकी लोकगायिका गुरमित बाबा, अभिनेत्री एवम् लेखिका मधु जाफरी, शास्त्रीय संगीतकार राशिद खानलाई पनि पद्म भूषणबाट सम्मान गरिएको छ ।
पद्म श्रीको पङ्क्तिमा गायक, निर्देशक :
पद्म श्री पाउने १०७ जनाको सूचीमा गायक सोनु निगम, समाजशास्त्री शैबाल गुप्ता, लेखिका नजमा अख्तर, अभिनेता एवम् निर्देशक चन्द्रप्रकाश द्विवेदी, लद्दाखका सांसद शेरिङ्ग नामग्याल परेका छन् ।
खेलाडीलाई पनि पद्म श्रीको ताज :
त्यसै गरी पद्म श्रीको ताज पाउनेहरुमा खेलाडीहरु पनि परेका छन् । विश्व खेलमा दक्षिण एशियाबाट खेल जगतमा सधैं प्रतिस्पर्धी रहने भारतले आफ्ना खेलाडीको सम्मान गरेको छ ।
यो वर्षको पद्म श्री पाउने खेलाडीमा निरज चोपडा, सुमित एन्टिल, प्रमोद भगत, बन्दना कटारिया, अवनी लेखारा लगायतका रहेका छन् ।
लामो समयसम्म वृटिश उपनिवेशको हण्डर खाएर आखिर सन् १९५० को जनवरी २६ तारेखमा ब्रिटिश साम्राज्यको पञ्जाबाट मुक्त भएसँगै भारतले २६ जनवरीलाई गणतन्त्र दिवसका रुपमा मान्दै आएको छ ।
हाल सार्वभौम अधिकारसम्पन्न रहेको भारतले सन् १९५० को जनवरी २६ तारिखमा आफ्नो मौलिक संविधान जारी गरेको थियो ।